दाङमा स्वास्थ्य केन्द्र स्थापना गर्न अमेरिकामा च्यारिटी

बस्टन । दाङ जिल्लामा एकीकृत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न सहयोग जुटाउने उद्देश्यले संयुक्त राज्य अमेरिकामा एउटा च्यारिटी कार्यक्रम आयोजना गरिएको छ ।

हेल्थ फाउन्डेशन नेपालद्वारा बस्टन शहरमा गत जनवरी ४ मा आयोजित एक कार्यक्रममा झन्डै २२ लाख नेपाली रुपियाँ (२०,००० अमेरिकी डलर) सहयोग जुटेको हो ।

कार्यक्रमको शुरुमा हेल्थ फाउन्डेशन नेपाल संचालक समितिका अध्यक्ष डा. अशोकराज देवकोटाले सबै सहभागीहरूलाई स्वागत गरेका थिए ।

कार्यक्रममा बस्टनस्थित नेपाली व्याण्ड तेजस्विज तथा कनेक्टिकटमा बसोबास गर्ने गायिका पुस्तका खड्काले सांगीतिक प्रस्तुति गरेका थिए ।

हेल्थ फाउन्डेशन नेपालका सहसंस्थापक तथा कार्यकारी निर्देशक डा. श्रीधर पौडेलले उठेको रकम दाङ जिल्लामा एउटा एकीकृत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न खर्च गरिने जनाए ।

उनले सबै सहयोगदाताहरुलाई धन्यवाद पनि दिए । कार्यक्रममा १०० जनाभन्दा बढीको सहभागिता थियो ।

सन् २०१२ मा अमेरिकामा स्थापित हेल्थ फाउन्डेशन नेपालले नेपालको ग्रामीण समुदायमा समुदायमा आधारित शिशु पोषण, वयस्क प्राथमिक स्वास्थ्य स्याहार, मातृ तथा शिशु स्वास्थ्य सेवाका साथै कम्प्युटर तथा स्वास्थ्य साक्षरता कार्यक्रम पनि संचालन गर्दै आएको छ ।

फाउन्डेशनले सन् २०१५ मा गएको भूकम्पपछि रिविल्ड नेपाल संगको सहकार्यमा एउटा हेल्थ पोस्ट, २ ओटा विद्यालयहरू तथा ३७ ओटा आवासीय भवनहरूको पुनर्निर्माण गरेको थियो ।

फाउन्डेशनले दाङ जिल्लाको ग्रामीण क्षेत्रमा स्वास्थ्य केन्द्र संचालन गरिरहेको छ । लक्ष्मी प्रतिष्ठानसंगको सहकार्यमा चितवनको कान्दामा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

अमेरिकामा पढी रहेका नेपाली किशोरकिशोरीहरूले इन्टरनेटको माध्यमबाट चितवनस्थित चेपांग समुदायका बालबालिकाहरूको पठनपाठन तथा व्यक्तित्व विकासमा पनि सघाएको थियो ।

Published : Tuesday, 2020 January 21, 7:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया