ओलीको निम्तो मोदीद्वारा स्वीकार, भिडिओ कन्फेरेन्स
काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई देशबीच थाती रहेका मुद्दालाई सुल्झाउने बेला आएको बताएका छन् ।
विराटनगरमा निर्माण सकिएको इन्टिग्रेटेड चेकपोस्ट र गोरखा र नुवाकोटमा बनेका ५० हजार घर हस्तान्तरण गर्न मंगलबार बिहान प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडिओ कन्फेरेन्स भएको थियो ।
भिडिओ कन्फेरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए ।
‘मित्रताका आधारमा काम ग¥यौं भने दुई पक्षीय सम्बन्धलाई थप उचाइमा लैजान सक्छौं’, प्रधानमन्त्री ओलीले भने, ‘वार्ताका माध्यमबाट हामीबीच थाती रहेका मुद्दालाई दुई देशको दीर्घकालीन हित हुने गरी पनि सुल्झाउने बेला आएको छ ।’
उनले दुबै देशमा स्थायी र बहुमतको सरकार भएकाले यो उपयुक्त अवसर भएको बताए ।
‘मेरो सरकार समस्या सुल्झाउन भारत सरकारसँग नजिकबाट काम गर्न प्रतिबद्ध छ’, ओलीले भनेका छन् । उनले मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिए ।
‘म तपाईंलाई काठमाडौंमा स्वागत गर्न आतुर छु’, ओलीले भने, ‘यहाँको भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ मजबुद बनाउनेछ ।’
ओलीपछि बोलेका मोदीले सुरूमा नेपालीमा कस्तो छ भनेर सोधेका थिए । उनले नेपाल–भारत सम्बन्ध पछिल्लो समयमा अभूतपूर्व सहयोग देखिएको बताए ।
‘हामीले केही नयाँ क्षेत्रमा सहयोग गरेका छौं। मलाई आशा छ यो नयाँ दशक भारत–नेपाल सम्बन्धको स्वर्णीम दशक बनोस्’, मोदीले भनेका छन् । उनले नेपाल भ्रमणको निम्तो दिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् ।
‘मलाई निमन्त्रणा दिनुभयो धन्यवाद छ । म यस वर्षको कार्यतालिका बनाउँदैछु’, मोदीले भने, ‘यस वर्ष म जरूर नेपालीसँग समय बिताउनेछु ।’
सम्बोधनको अन्त्यमा उनले नेपालीमा भने, ‘फेरि भेट होला ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया