कुमारीकाे माफियाहरूसँग कनेक्सन

काठमाडौं । सर्वसाधरणको निक्षेप रहने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले नै करोडौं मूल्य बराबरको जग्गा हत्याएको भन्दै राजधानीमा पीडित पक्षले अनसन शुरु गरेको छ ।

कुमारी बैंकका सिइओसहित ३ दर्जनभन्दा बढी व्यक्तिले किर्ते गरी आफ्नो करोडौंको जग्गा हत्याएको भन्दै उनीहरुले आमरण अनसन शुरु गरेपछि कुमारी बैंक नै विवादमा मुछिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० मीनभवनका गणेशलाल अवाले र रविन्द्र उप्रेतीले कुमारी बैंकलाई मुख्य दोषी देखाउँदै अनसन सुरु गरेका हुन् ।

अवालेको नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर १० हाल ३२ को सिट नम्बर १०२–११८६–०४ को कित्ता नम्बर ३४१ क्षेत्रफल ४ रोपनी ८ आना, ३ पैसा १ दाम जग्गा भूमाफयाहरुले बैंकसँग मिलेमतो गरी ठगी गरेका कारण आफू घरबार विहिन भएको बताएका छन् ।

अवालेले आफ्नो जग्गालाई व्यापारिक मल बनाउने उद्देश्यले नारायणबहादुर कार्कीलाई दिएको र उनै कार्कीले विभिन्न व्यक्तिको मिलेमतोमा आफ्नो जग्गा विभिन्न व्यक्तिको नाममा किर्ते कागजात बनाई अर्कैको नाममा पास गरी ठगी गरेको आरोप लगाएका छन् ।

अवालेको जग्गा बालाजु औद्योगिक क्षेत्रका अध्यक्ष नन्दकिशोर बस्नेतको नाममा रहेको परमा डेप्लोपर्सको नाममा पास गरिएको छ । जुन कुरा अवालेले धेरै पछि मात्र थाहा पाएका थिए । त्यसो त पीडितहरुले आफूहरुको जग्गा ठगी गर्ने व्यक्तिहरुको नाम नै ब्यानरमा उल्लेख गरेका छन् ।

जसमा कुमारी बैंकका तत्कालीन सिइओ उदयकुमार उपाध्याय, सोही बैंकका सहायक सिइओ राजीव गिरी, कर्जा विभाग प्रमुख नरेन्द्र छत्कुली, सोही बैंकका कर्मचारी सञ्जीव सैजु, नारायण बहादुर कार्की, विजुली माफिया मनोजकुमार मिश्र, सन्तोष खनाल, अरुणलाल श्रेष्ठ, प्रविर सम्शेर जबरा, चन्द्रकुमार कार्की, अन्नपूर्ण मिडियाका मालिक क्याप्टेन रामेश्वर थापा, सुरेशराज घिमिरे, बालाजु औद्योगिक क्षेत्रका अध्यक्ष नन्दकिशोर बस्नेत, रामकृष्ण हुमागाई, घरजग्गा दलाल कालु गुरुङ, सचला श्रेष्ठ, अनुजमानसिं श्रेष्ठ, डिल्लीबजार मालपोत प्रमुख पद्मनिधि सोती, अधिकृत गोपाल गिरी, नासु पिताम्बर भण्डारी, नासु गोरखबहादुर खड्का, नासु खेम नारायण श्रेष्ठ, शाखा अधिकृत प्रकाश चौलागाईं, तत्कालिन मालपोत प्रमुख टीकाराम घिमिरे, दिनेशनाथ तिवारी, सूर्यप्रसाद अधिकारी, सुर्यकान्त झा, चनुमाया श्रेष्ठ, प्रेमबहादुर खापुङ र विक्रमप्रसाद पाण्डेको मिलेमतोमा आफ्नो जग्गा ठगी भएको बयानरमा उल्लेख छ । किर्ते गरी परमा डेप्लोपर्सको नाममा पास गरिएको अवालेको उक्त जग्गा राखेर कुमारी बैंकले ऋण स्वीकृत गरेपछि बैंक पनि उक्त ठगी काण्डमा मुछिएको खुलेको हो । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2020 January 16, 9:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया