गृह सचिव बन्न यी चार सचिवबीच प्रतिस्पर्धा
काठमाडौं । गृहसचिव प्रेमकुमार राईको कार्यकाल सकिनै लाग्दा गृहमा जान चार सचिवहरूबीच चर्को प्रतिस्पर्धा शुरु भएको छ । राईले यही माघ २० मा अवकाश पाउँदैछन् ।
नेकपानिकट सचिवका रूपमा चिनिएका गृहसचिव राईलाई मुख्यसचिव बनाउन नमिल्ने भएपछि सरकारले उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त बनाउने तयारी गरेको छ ।
मुख्य सचिव लोकदर्शन रेग्मीको कार्याकाल २०७७ कार्तिक ३ गतेसम्म रहेको हुँदा राईलाई अख्तियार पठाउन खोजिएको हो । रेग्मीलाई अवकाश अगावै संयुक्त राज्य अमेरिकाको रिक्त राजदूत पदमा नियुक्त गरेर मुख्य सचिव बनाउने बालुवाटारको योजना परिवर्तन गरी राईलाई अख्तियार लान खोजिएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त र चारजना आयुक्त रहने व्यवस्था छ । आयोगमा हाल दुई आयुक्तको पद रिक्त छ । रिक्त स्थानमा राईलाई सचिवबाट अवकाश पाएपछि नियुक्ति गर्ने योजना ओली सरकारको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र मानिएका राईले गृह मन्त्रालयका कतिपय जटिल र गम्भीर विषयमा निर्णय गर्दा गृहमन्त्री रामबहादुर थापालाई समेत क्रस गर्ने गरेको आरोप लाग्दै आएको छ । उनले मुख्य सचिवको भूमिका समेत कमजोर बनाएको भनेर सचिवहरुबीच नै टिप्पणी हुने गरेको छ ।
अख्तियारका आयुक्त राजनारायण पाठक भ्रष्टाचार अभियोगमा मुछिएपछि सो स्थान रिक्त छ भने आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको कार्यकाल २८ असोज २०७७ मा सकिँदै छ । आयोगमा हाल सावित्री थापा र डा. गणेशराज जोशी आयुक्त छन् ।
खाली दुई आयुक्तमध्ये एकमा राई र अर्को आयुक्तमा कांग्रेसको सिफारिसमा नियुक्त गरिने तयारी भएपनि कांग्रेसको कोटाबाट आयुक्त हुने संभावना कम छ । अहिले राईलाई अख्तियारको आयुक्तमा नियुक्ति गर्ने र २८ असोज २०७७ मा प्रमुख आयुक्तबाट घिमिरेले अवकाश पाएपछि राईलाई नै प्रमुख आयुक्त बनाउने प्रधानमन्त्री केपी ओलीको योजना रहेको छ ।
यता, राईले गृहबाट अवकाश पाएपछि गृह मन्त्रालको सचिव बन्न चार सचिवहरूबीच प्रतिस्पर्धा शुरु भएको छ ।
स्रोतका अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपाने, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण सचिव सूर्यप्रसाद गौतम र राजश्व सचिव शिशिरकुमार ढुंगाना प्रधानमन्त्री ओलीले रुचाएका सचिव हुन् ।
यी तीनमध्येबाट ओलीले एकलाई गृह सचिवको जिम्मा दिने योजना बनाएको बालुवाटार स्रोतको दावी छ । नेकपा निकट रहेका तीनै जनाले प्रधानमन्त्री ओलीको विश्वास जितिसकेको हुँदा ओलीले कसलाई गृहको सचिव बनाउने हुन्, त्यसका लागि भने दुई साता कुर्नु पर्ने देखिन्छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीका सबैभन्दा विश्वासिला सचिव राईले आफ्नो क्षेत्रका गौतमलाई नै गृह सचिव बनाउन प्रधानमन्त्रीलाई सुझाएका छन् । अख्तियारमा बसेका न्यौपाने र गृह सचिव राईबीच राम्रो सम्बन्ध छैन । यद्यपी ढुंगाना पनि प्रधानमन्त्री ओलीसँगै काम गरेर विश्वास जितेका कारण उनी पनि बलिया प्रतिस्पर्धी हुन् ।
यी तीनै जनामध्येबाट गृह सचिव बनाउन प्रधानमन्त्रीलाई सकस भएको खण्डमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमाम रहेका यादव प्रसाद कोइराला पनि गृह सचिव बन्ने सम्भावना देखिन्छ । कोइराला पनि प्रधानमन्त्री कोइरालाले रुचाएका सचिव हुन् । (यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया