कांग्रेस बलियो हामी आफैले बनाउने हो, ठूला नेताले होइनः राजु खनाल

तुलसीपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले पार्टीलाई बलियो वा कमजोर बनाउने भन्ने विषय कार्यकर्ताको हातमा रहेको बताएका छन् ।

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १७ मा शनिबार क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै युवा नेता खनालले नेपाली कांग्रेसलाई बलियो कार्यकर्ताहरूले नै बनाउन सक्ने बताए ।

‘कांग्रेसलाई बलियो गाउँ, टोलदेखि तपाईहामी कार्यकर्ताले हो’, उनले भने, ‘केन्द्रबाट ठूला नेताहरू आएर कांग्रेस बलियो बनाइदिनेछन् भनेर भ्रममा बस्नु हुँदैन ।’

नेपाली कांग्रेसलाई पछिल्लो समय कम्युनिस्टहरूका कारण ठूलो चुनौती थपिएको उनले बताए । ‘कांग्रेस पराजित अवस्थामा छ ।

पराजित भयौँ भनेर हामी आफ्नो जिम्मेवारीबाट भाग्नु हुँदैन’, युवा नेता खनालले भने, ‘कम्युनिस्टरूको बेथिती, अराजकता, भ्रष्टाचार, अनियमितताहरूको भण्डाफोर हामीले गर्नुपर्छ । मुलुकलाई सहि दिशामा लैजानका लागि कम्युनिस्टहरूलाई कांग्रेसले मार्गनिर्देशन गर्नुपर्छ ।’

जनताले कम्युनिस्टहरूलाई विश्वास गरेर दिएको बुहमतको कम्युनिस्ट सरकारले दुरुपयोग गर्न थालेको खनालले बताए । ‘संविधान विपरितका कानून बनाउन खोजेको छ । जनताको अधिकार कटौती गर्न लागेको छ’, उनले भने, ‘कम्युनिस्टहरूलाई खबरदारी गर्नुपर्ने भएको छ ।’

विशेष सेवा ऐन र सूचना प्रविधि विधेयकको नेपाली कांग्रेसका युवा नेता खनालले विरोध गरेका छन् । ‘जनताको अधिकार खोज्ने यी विधेयकहरू कांग्रेसलाई मान्य छैन’, उनले भने, ‘यसको हामी सबै मिलेर विरोध गर्ने बेला आएको छ ।’

नेपाली कांग्रेसका कृयाशील सदस्यहरूको भेलामा दाङ कांग्रेसका पूर्वसभापति घनश्याम रेग्मी, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भुपबहादुर डाँगी, नेपाली कांग्रेस दाङका नेता भरतबहादुर न्यौपाने, नेपाली कांग्रेस दाङका सचिव बद्रीकुमार खड्का, नेविसंघका पूर्वउपाध्यक्ष प्रदीप खड्का लगायतका नेताहरूको उपस्थिति रहेको थियो । भेला वडा नम्बर १७ नेपाली कांग्रेसका सभापति लालबहादुर गिरीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

नेपाली कांग्रेस दाङले पार्टीको संगठन सृदुढीकरणको अभियानलाई गाउँ, टोलहरूमा चलाउँदै आएको छ । गाउँका नेता तथा कार्यकर्ताहरूलाई कम्युनिस्ट सरकारको गलत कृयाकलाप, भ्रष्टाचार र अनियमितताहरूका बारेमा जानकारी गराउँदै आएको छ ।

Published : Sunday, 2020 January 12, 5:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया