दाङमा कम्युनिस्टहरूको अत्याचार बढ्यो, कांग्रेस निकटका शिक्षकहरूले सबक सिकाउने

घोराही । नेपाली कांग्रेस निकटको नेपाल शिक्षक संघ, दाङको भेलाले घोराही उपमहानगरपालिकाको नगर शिक्षा समितिले हालै गरेको शिक्षक दरवन्दी मिलान राजनीतिक पूर्वाग्रही भएको भन्दै तत्काल सच्चाउन माग गरेको छ ।

संघका अध्यक्ष गिरिराज शर्मा अधिकारीको अध्यक्षता तथा नेपाल शिक्षक संघ प्रदेश ५ का अध्यक्ष अर्जुनकुमार योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले राजनीतिक आस्थाका कारण नेपाली कांग्रेस निकटका शिक्षकहरूलाई भेदभाव गरिएको जनाएको हो ।

वक्ताहरूले राजनीतिक आस्था र बिचारबाट पूर्वाग्रही हिसावले दरवन्दी मिलान भएको गुनासो गरेका छन् ।

घोराही उपमहानगरपालिकामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट मेयर र उपमेयर निर्वाचित भएका थिए । उनीहरूले राजनीतिक पूर्वाग्रही भएर नेपाली कांग्रेस निकटका शिक्षकहरूलाई दुःख दिने कार्य गर्दै आएका छन् ।

नेपाल शिक्षक संघका ५ नम्वर प्रदेश अध्यक्ष योगीले घोराही उपमहानगरपालिकाभित्र गरिएको शिक्षक दरवन्दीका संघीय शिक्षा मन्त्रालयले गरेको दरवन्दी मिलानको बिपरित भएको बताए ।

पेशागत संघ–संगठनको परामर्स बिना पूर्वाग्रही हिसावले घोराहीमा गरिएको दरवन्दी मिलान तत्काल नसच्चाए शिक्षक संघ आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

कम्युनिस्टहरूको ज्यादतीविरुद्ध आन्दोलनको तयारी गर्न निर्देशन दिँदै अध्यक्ष योगीले त्यसका लागि तयारी अवस्थामा बस्न शिक्षकहरूलाई अनुरोध गरेका छन् ।

भेलाले आगामी माघ ४ गते घोराही स्थानीय तहको प्रतिनिधि सभा गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा यस वर्ष बाह्य तथा आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका घोराही उपमहानगरपालिकाका शिक्षकहरूलाई सम्मान गर्ने निर्णय पनि भएको छ ।

घोराही उपमहानगरपालिकाका १९ वटै वडा र विद्यालय तहमा शिक्षक संघको ईकाइ समिति गठन गर्ने, शिक्षक एकता बचत तथा ऋण सहकारी संस्थामा सम्पूर्ण नेपाल शिक्षक संघका शिक्षकहरूलाई सदस्य बन्न अनुरोध गर्ने लगायतका निर्णय पनि संघले गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक संघ प्रदेश ५ का अध्यक्ष योगीले शिक्षकहरूलाई शैक्षिण गुणस्तरीयता कायम गराउने गरी काम गर्ने वातावरण बनाउनका लागि अनुरोध गरेका छन् ।

Published : Saturday, 2020 January 11, 4:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया