ओलीकाे डिजाइनभित्र परे नारायणकाजी, पाउलान् अर्थ मन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसले डा.बाबुराम भट्टराईलाई साथ दिएपछि गोरखाबाट प्रतिनिधि सभा निर्वाचनमा हारेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अब सरकारमा जाने बाटो खुल्दै छ ।

राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने निर्णयसँगै प्रवक्ता श्रेष्ठलाई सरकारमा जाने बाटो खुल्न लागेको हो ।

श्रेष्ठलाई यो सुविधाका लागि भने अझै करीब दुई महिना कुर्नु पर्नेछ । प्रवक्ता श्रेष्ठ निर्वाचित हुनेमा शंका छैन ।

प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका श्रेष्ठलाई यति छिटो सत्ताको लोभ लाग्छ भन्ने धेरैले अनुमान गरेका थिएनन् । प्रधानमन्त्री खड्गप्रसाद ओलीले श्रेष्ठलाई अर्थ मन्त्रीको लोभ देखाएर सभामुख फुत्काउन सक्ने धेरैको अनुमान छ ।

नेकपाका प्रवक्ता श्रेष्ठ माघ ९ गते निर्वाचन भए पनि आगामी फागुन २० गतेपछिमात्र पदमा बहाल हुनेछन् ।

उनको पद बहालीसँगै अर्थमन्त्री डा.युवराज खतिवडा राष्ट्रियसभा सदस्यबाट बाहिरिनेछन् ।

राष्ट्रियसभा गठनको पहिलो चरणमा गोला प्रथाबाट दुई, चार र छ वर्ष कार्यकाल तोकिँदा उनी दुई वर्षमा परेका थिए ।

अर्थमन्त्री पद फागुन २० देखि रिक्त हुनेछ । त्यसपछि प्रवक्ता श्रेष्ठ अर्थमन्त्री बन्ने अनुमान धेरैको छ ।

यो योजना सफल भएमा नेकपाभित्रको शक्ति सन्तुलनमा प्रधानमन्त्री खड्गप्रसाद ओली बलियो हुनेछन् ।

बहालवाला अर्थमन्त्री डा.खतिवडालाई दोहो¥याउने एउटा बाटो भने प्रधानमन्त्री ओलीसँग जीवितै छ ।

राष्ट्रिय सभामा रिक्त हुने १९ स्थानमध्ये १८ वटामा निर्वाचन हुँदै छ । एक स्थान भने राष्ट्रपतिबाट मनोनीत हुनेछ ।

दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले डा.युवराज खतिवडा, रामनारायण विडारी र डा.विमला पौड्याललाई मनोनीत गरेकी थिइन् । त्यसमध्ये डा.खतिवडाको कार्यकाल सकिन लागेको छ ।

प्रधानमन्त्री ओलीले डा.खतिवडालाई अर्थमन्त्रीको रूपमा निरन्तरता दिन चाहेमा उनैलाई मनोनीत गरिनेछ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा मनोनीत गर्ने संवैधानिक प्रावधान छ ।

नेकपा उच्च स्रोतहरूका अनुसार प्रवक्ता श्रेष्ठलाई अर्थमन्त्री बनाउनेमा ढुक्क हुन नसकिए पनि प्रधानमन्त्री ओली डा.खतिवडालाई निरन्तरता दिने पक्षमा छैनन् ।

Published : Saturday, 2020 January 11, 10:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया