राष्ट्रपतिको जिल्लामा कांग्रेसको शानदार कार्यक्रम, षडानन्दमा समायोजन

षडानन्द । नेपाली कांग्रेस भोजपुरले षडानन्द नगरपालिकामा समायोजन गरेको छ ।

शुक्रबार षडानन्द नगरपालिकामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसको नगर समितिलाई ९६ सदस्यीय बनाइ समायोजन गरिएको हो ।

नगर समितिका सभापति राजु बस्नेतको नेतृत्वमा समायोजन गरिएको नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले जानकारी दिए ।

षडानन्द नगरपालिकामा १४ वटा वडाहरू छन् । नेपाली कांग्रेसको नगर समितिमा समायोजन भएपछि स्थानीय नेता तथा कार्यकर्ताहरूमा उत्साह थपिएको छ ।

नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणि राईको प्रमुख आतिथ्य, नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा उल्लेख्य नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

नगर समितिका सभापति राजु बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा षडानन्द नगरपालिकाका मेयर वीरबल राई, भोजपुर नगरपालिकाका मेयर एवम् नेपाली कांग्रेस भोजपुरका सचिव कैलाश आले, महासमिति सदस्य हेमन्त मुकारुङ, महासमिति सदस्य रेणु राई, नेपाली कांग्रेस भोजपुरका कोषाध्यक्ष सफल राई, नेपाल तरुण दल भोजपुरका अध्यक्ष सरोज बस्नेत, नेपाल सांस्कृतिक संघका अध्यक्ष मनोज कार्की लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरूले भोजपुर जिल्लामा नेपाली कांग्रेसलाई स्थानीय जनताले विश्वास गर्दै आएको भन्दै उनीहरूको विश्वासलाई डगमगाउन दिन नहुने बताए । उनीहरूले गाउँमा कांग्रेस बलियो भयो भने मात्रै नेपाली कांग्रेसले जित्ने बताए ।

भोजपुर जिल्ला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला पर्छ ।

Published : Friday, 2020 January 10, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया