उम्मेदवार चयनको अधिकार कांग्रेसले पदाधिकारीलाई दियो, पौडेल–सिटौला समूह अनुपस्थित
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको छ ।
ललितपुरको सानोपास्थित पार्टी मुख्यालयमा बिहीबर बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय सभामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मेवारी पदाधिकारीलाई दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । माघ ९ राष्ट्रिय सभाका लागि निर्वाचन हुँदै छ ।
नेपालको संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रिय सभाका एक तिहाई सदस्यका लागि २०७६ माघ ९ गते सम्पन्न हुन गइरहेको छ ।
‘निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३२ (९) बमोजिमको कार्यसम्पादन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
‘आवश्यक परामर्श गरी केन्द्रीय पदाधिकारीको बैठकले राष्ट्रिय सभाका सदस्यको निर्वाचनका लागि उम्मेदवारको निर्णय गरी पार्टीका तर्फबाट उम्मेदवारको घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिला गर्ने व्यवस्था गर्ने’, नेपाली कांग्रेसले भनेको छ ।
राष्ट्रिय सभा सदस्यको रिक्त एक तिहाई पदका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दलहरूसंग आवश्यक सहकार्य र तालमेलका लागि पहल गर्ने निर्णय पनि नेपाली कांग्रेसले गरेको छ ।
‘राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई सहयोग एवं समर्थन गर्नका लागि संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा रहेका सबै राजनैतिक दलहरू र सबै मतदाताहरूलाई नेपाली कांग्रेस अनुरोध र आह्वान गर्दछ’, नेपाली कांग्रेसको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेसको बिहीबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र नेता कृष्णप्रसाद सिटौला समूहले बहिस्कार गरेको थियो ।
बैठकमा सभापति शेरबहादुर देउवा निकटका पदाधिकारी र केन्द्रीय सदस्यहरूको मात्रै सहभागिता रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया