अग्निलाई रोक्न पूर्वएमालेद्वारा नानाथरी प्रचार

काठमाडौं । पूर्वएमाले पृष्ठभूमि भएका सुवासचन्द्र नेम्वाङले सभामुख बन्न रहर देखाएपछि पूर्वमाओवादी नेताहरू तनावमा परेका छन् ।

पूर्वएमालेहरूले नेम्वाङलाई सभामुख बनाउन माओवादी पृष्ठभूमि भएका अग्नि सापकोटाविरुद्ध द्वन्द्वकालीन मुद्धा र सर्वोच्चको डर देखाएर ब्याक गराउन खोजेका छन् ।

नेकपाकै पूर्वएमाले निकटका एकजना सांसदका अनुसार नेम्वाङ आफू सभामुख बन्न सापकोटाविरुद्ध विभिन्न भ्रमहरू फिजाइरहेका छन् ।

संसदको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु हुँदै छ । नयाँ सभामुखका बारेमा चासो बढेको छ ।

सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीबाट नै बन्ने निश्चित छ । सापकोटाको पक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल छन् ।

नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी पक्षधरबीच सभामुख पदमा दाबी रहेको छ । विगतमा सभामुख बनेका कृष्णबहादुर महरा पनि पूर्वमाओवादी पक्षधर हुन् । त्यसैले आफू पक्षधरले सभामुख पाउनुपर्ने दाबी पूर्व माओवादी पक्षधरको छ ।

सभामुखका लागि माओवादीबाट सबैभन्दा शक्तिशाली दाबेदारका रुपमा सापकोटा देखिएका छन् । सापकोटालाई रोक्न नेम्वाङ लागेका छन् ।

पूर्वएमालेबाट सभामुखका लागि नेम्वाङले मात्रै जोडबल गरेका छन् । नेम्वाङलाई सभामुख बनाउन दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली पनि सकारात्मक छन् ।

माओवादी पृष्ठभूमि भएका देव गुरुङपनि सभामुखको दाबेदारीमा छन् । उनी नेकपाका प्रमुख सचेतक पनि हुन् ।

सभामुखमा तिव्र प्रतिष्पर्धा भइरहँदा पम्फा भुषालले पनि दाबी गरेकी छिन् । लामो राजनीतिक अनुभव र महिला हुनुले पनि उनको दाबी देखिएको छ ।

भुसालको पक्षमा गृहमन्त्री रामबहादुर थापा सकारात्मक छन् ।

सभामुख बन्न डा.शिवमाया तुम्वाहाम्फेले पनि लबिङ छाडेकी छैनन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन छ ।

नेकपाभित्र सभामुखका लागि प्रतिष्पर्धा चलिरहँदा एउटा पक्ष राजपा नेता महन्थ ठाकुरलाई बनाउन लागिपरेको छन् ।

डा.तुम्वाहाम्फेलाई उपसभामुखमा कायमै राखेर ठाकुरलाई सभामुख बनाउनेबारे समेत चर्चा चलेको छ । ठाकुरलाई सभामुख बनाउने सम्भावना न्यून छ ।

राजपालाई सहमतिमा ल्याउन र संविधान संशोधन गर्ने माहोल बनाउने त्यसतर्फ पनि सहमति जुटाउन एकथरी नेकपा नेताहरू लागिपरेका छन् ।

Published : Thursday, 2019 December 19, 8:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया