कांग्रेस घरझगडामा अल्झिएका बेला कम्युनिस्टले मौका छोपे, भयो घाटा लाग्ने सहमति

काठमाडौं । नेपाली कांग्रेस आन्तरिक कलहमा अल्झिएका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बीच राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गरेर अगाडि बढ्ने निर्णय भएको छ ।

नेकपा र राजपावीच प्रदेश २ को राष्ट्रिय सभामा रिक्त हुने चार पदका लागि दुई–दुई सिटमा सहकार्य गरेर जाने सहमति भएको छ ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओली, नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष, राजपा नेपालका संयोजक राजेन्द्र महतो तथा शीर्ष नेताहरूबीच बुधबार बालुवाटारमा राष्ट्रिय सभाको निर्वाचनमा सहकार्य गर्ने निर्णय भएको हो ।

निर्णयअनुसार नेकपाले राजपालाई प्रदेश २ मा चार स्थानमध्ये पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा सहयोग गर्नेछ ।

‘आगामी माघ ९ गते सम्पन्न हुने प्रदेश २ को राष्ट्रिय सभा निर्वाचका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सहयोग गर्ने’, सहमतिको पहिलो बुँदामा भनिएको छ,

‘त्यसैगरी महिला र दलित पुरुष समूहको दुई स्थानमा राष्ट्रिय जनता पार्टी नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारलाई सहयोग गर्ने ।’

‘हामी दुई पार्टीका बीचमा राष्ट्रिय राजनीतिका समसामयिक विषयहरूमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने’, सहमतिको दोस्रो बुँदामा उल्लेख छ ।

नेपाली कांग्रेसले राजपा नेपालसँग सहकार्य गरेर राष्ट्रिय सभा निर्वाचनमा एक सिट भएपनि बचाउन सक्थ्यो । प्रदेश २ मा नेकपा र राजपावीच भएको सहमतिले नेपाली कांग्रेसले राष्ट्रिय सभामा निर्वाचनमा एक सिट पनि पाउनेछैन ।

Published : Wednesday, 2019 December 18, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया