प्रचण्डको जिल्लामा कम्युनिस्ट वडाध्यक्षको लफडा, कांग्रेसले दियो छाड्न चेतावनी

भरतपुर । चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका वडा नम्बर २ बाट कम्युनिस्टहरूले वडा कार्यालय सार्न खोजेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका वडाध्यक्ष पञ्चबहादुर चेपाङ र नेकपाको वडा पार्टी कमिटीका अध्यक्ष प्रकाश बुढाथोकीलाई स्थानीयले कालोमोसो दलेर विरोध जनाएका छन् ।

स्थानीयको विरोध हुँदाहुँदै वडाध्यक्ष चेपाङले शनिबार राति जबरजस्ती वडाकार्यालयका सामान सार्न खोजेपछि आक्रोशित स्थानीयले कालोमोसो दलेर विरोध जनाएका हुन् । स्थानीयले सामान सार्न खोजेपछि नारावाजी र प्रदर्शन समेत गरेका थिए ।

घटनामा संलग्न रहेको भन्दै चितवन प्रहरीले केही व्यक्तिहरूलाई पक्राउ समेत गरेको छ । नेपाली कांग्रेस चितवनले पक्राउ परेका व्यक्तिहरूलाई रिहाइ गर्न माग गर्दै घटनाबाट उत्पन्न परिस्थितिको स्वयं सत्तारुढ दल र स्थानीय प्रहरी प्रशासन जिम्मेवारी हुने चेतावनी दिएको छ ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले आइतबार विज्ञप्ति जारी गरेर वडा कार्यालय सार्ने विषयमा स्थानीय तहमा विवाद रहेको जनाएका छन् ।

घटनामा नेपाली कांग्रेसलाई मुछेर नेकपाले लगाएको आरोपको खण्डन गर्दै चिवतवन कांग्रेसका सभापति श्रेष्ठले भनेको छ, ‘स्थानीय जनताले प्रतिकार गरेका हुन् । जनतालाई दुःख दिने गरेर वडा कार्यालय सार्न खोजेपछि स्थानीयको विरोध थियो । स्थानीय जनतालाई असर पर्ने कार्य सकैले गरिनु हुँदैन ।’

सभापति श्रेष्ठले घटनामा संलग्न भनेर उत्तमबहादुर गुरुङ, बिर्खबहादुर गुरुङलाई पक्राउ गरिएको घटनाको विरोध गरेका छन् । उनले झुठ्ठा मुद्धा लगाएर उत्तम र बिर्खलाई पक्राउ गरेको भन्दै विनासर्त रिहाइको माग गरेका छन् ।

नेपाली कांग्रेस चितवनले मध्यराति ९ बजे सार्वजनिक विदाको दिन वडा कार्यालय सार्न खोज्न स्थानीयले प्रतिकार र विरोध गरेको जनाएको छ ।

नेपाली कांग्रेस चितवनले सत्तारुढ नेकपा चितवनले वडाध्यक्षको गलत कार्यलाई संरक्षण गरेको भन्दै आपत्ति जनाएको छ ।

कम्युनिस्टहरूले वडा कार्यालय सार्ने खोजेपछि स्थानीयले विरोध गर्दै आएका छन् ।

नेकपा चितवनले घटनामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको संलग्नता रहेको आरोप लगाएको छ ।

वडा कार्यालय सार्न वडाध्यक्ष चेपाङलाई नेकपाका वडाध्यक्ष प्रकाश बुढाथोकीले साथ दिएका थिए ।

चेपाङ र बुढाथोकी मिलेर शनिबार राति वडा कार्यालय सार्न गाडीमा सामान राख्दै गरेका बेला स्थानीयहरू जम्मा भएर अबरोध सिजर्ना गर्नुका साथै धक्का मुक्का र कालोमोसो दल्ने कार्य भएको एकजना प्रत्यक्षदर्शीले जनाएका छन् ।

ईच्छाकामना गाउँपालिकाको वडा नम्बर २ स्थित प्राथमिक विद्यालय नजिक जोखालाल चेपाङको घरमा कांग्रेसद्वारा तालाबन्दी गरेको अवस्थामा वडा कार्यालय सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आदेशबमोजिम सामुदायिक भवनमा सार्न खोजेको नेकपा चितवनले जनाएको छ ।

नेकपाले उत्तर गुरुङ, बिर्खबहादुर गुरुङ, विजय गुरुङ, गीताबहादुर गुरुङ, जोखालाल चेपाङलगायतले वडाध्यक्ष चेतपाङ र नेकपाका वडाध्यक्ष बुढाथोकीलाई कुटपिट गरेको जनाइएको छ ।

स्थानीयको विरोध हुँदा हुँदै जबरजस्ती रातिको समयमा चोरले जस्तो गरी वडा कार्यालय सार्न खोजेपछि वडाध्यक्ष चेपाङ र नेकपा वडा पार्टीका अध्यक्ष बुढाथोकीलाई कालोमोसो दलेको प्रत्यक्षदर्शीको भनाइ छ ।

सत्तारुढ नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा कम्युनिस्टहरूले जनतालाई दुःख दिने गरेर बेलाबेला लफडा गर्दै आएको नेपाली कांग्रेसको आरोप छ ।

Published : Sunday, 2019 December 8, 5:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया