नेकपा निकट गुण्डा नाइके वीरेन्द्र देउखुरीमा पक्राउ

लमही । दाङ जिल्लामा प्रहरीको टाउको दुखाइ बनेका गुण्डा नाइके वीरेन्द्रकुमार चौधरी पक्राउ परेका छन् ।

दाङको देउखुरी उपत्यकामा गुण्डागर्दी गर्दै आएका चौधरीलाई ईलाका प्रहरी कार्यालय गढवाले ८–९ दिन अगाडि पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवम् प्रहरी निरीक्षक भरतसिंह राठौरले ज्यानमार्ने उद्योगमा चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।

गुण्डा नाइके चौधरीले गत तिहारको बेला स्थानीय जगत रावतलाई मजदुरी गरेको वीस हजार रुपियाँ माग्न गएका बेला गढवा गाउँपालिका वडा नम्बर ४ खड्कगपुरमा गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए ।

कुटपिट भएपछि रावतले ईलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएका थिए । उजुरी परेपछि गुण्डा नाइके चौधरी फरार थिए । चौधरीविरुद्ध ज्यानमार्ने उद्योगमा मुद्धा चलाइएको निरीक्षक राठौरले बताए ।

गुण्डा नाइके चौधरीलाई छुटाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही स्थानीय नेताहरू लागेको स्रोतले जनाएको छ । प्रहरी प्रशासनलाई दवाव दिएर गुण्डा नाइके चौधरीलाई छुटाउन नेकपाका नेताहरू लागेको पीडितको भनाइ छ ।

गुण्डा नाइके चौधरीले स्थानीय तहमा गाउँपालिका, नगरपालिका, सरकारी कार्यालय, क्रसर उद्योग, ठेकेदार, व्यापारीहरूलाई धम्काएर अबैध असुली समेत गर्दै आएका छन् । चौधरीको अबैध हर्कतविरुद्ध प्रहरीमा थुप्रै उजुरी छन् ।

आफ्नो अपराध कर्मलाई लुकाउन प्रदेश सभाको निर्वाचनका बेला गुण्डा नाइके चौधरी तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरेका थिए । माओवादी केन्द्रले प्रदेश सभातर्फ समानुपातिकको उम्मेदवार समेत बनाएको थियो । तर, उनी प्रदेश सांसद हुन पाएनन् ।

गोली हानेको अभियोगमा गुण्डा नाइके चौधरी दाङमा झण्डै छ महिना पुर्पक्षका लागि जेलमा समेत बसीसकेका छन् । उनीविरुद्धको मुद्धा सर्वोच्च अदालतमा अहिले पनि चलिरहेको छ ।

दाङ जिल्लाको देउखुरी उपत्यकालाई आफ्नो अपराधको केन्द्र बनाउँदै आएका चौधरीबाट स्थानीय व्यापारीहरू त्रसित छन् । चौधरीका विरुद्ध उनीहरू बोल्न पनि सक्दैनन् ।

गुण्डा नाइके चौधरीले धम्की दिएर ठेक्कापट्टा लिने र मजदुरहरूलाई पैसा नदिएका थुप्रै घटना छन् । युवतीको मामिलामा पनि गुण्डा नाइके चौधरी कमजोर मानिन्छन् । महिला काण्डमा समेत उनी प्रहरीमा परिसकेका छन् ।

Published : Saturday, 2019 December 7, 9:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया