कांग्रेसद्वारा काठमाडौंमा भ्रष्ट कम्युनिस्ट मेयरविरुद्ध भण्डाफोर, शुरु भयो दिनगन्ती
काठमाडौं । काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकामा कम्युनिस्ट मेयरले गरेको भ्रष्टाचार र अनियमितताविरुद्ध नेपाली कांग्रेस मनोहरा नगर संघर्ष समितिले भण्डाफोर गरेको छ ।
नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर संघर्ष समितिको आयोजनामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका मेयर कृष्णहरि थापाको अनियमितता र भ्रष्टाचारविरुद्ध शुक्रबार नगरपालिकाको कार्यालय अगाडि विरोध सभा गरिएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा भएको विरोध सभामा नगरपालिकाभित्र भएको भ्रष्टाचार र अनियमितता नरोकिए नगरपालिकाको कार्यालयमा ताला लगाउने चेतावनी दिइएको छ ।
प्रवक्ता शर्माले देशभरिका स्थानीय तहमा भएका भ्रष्टाचारविरुद्ध कागेश्वरी मनोहरा नगरपालिकामा नेपाली कांग्रेसको स्थानीय कार्यसमितिले शुरु गरेको आन्दोलन प्रशंसनीय रहेको बताए । उनले यो आन्दोलनलाई देशभरि शुरु गर्न अपील पनि गरेका छन् ।
जनतालाई सेवा दिन आएका जनप्रतिनिधिहरूले आफ्नो दायित्वलाई भुलेर गर्ने कुनैपनि खालको अनियमितता र भ्रष्टाचारलाई नेपाली कांग्रेसका लागि सैह्य नहुने प्रवक्ता शर्माले चेतावनी दिए ।
नेपाली कांग्रेसका नेता भीमसेनदाश प्रधान, नेपाली कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बानियाँलगायतका नेताहरूले कम्युनिस्टहरूको दुईतिहाइको दम्भ कागेश्वरी मनोहरा नगरपालिकामा मेयर कृष्णहरि थापाले देखाएको आरोप लगाए । उनीहरूले मेयर थापालाई अधिनायकवादी चरित्र अन्त्य गर्न सुझाव दिए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले कम्युनिस्टहरूका दिनगन्ती शुरु भएको बताए । उनले जनतालाई धोका दिएर करोडौँ कुम्ल्याउने षड्यन्त्र मात्रै गर्ने कम्युनिस्ट मेयरलाई जनताले सडकमा ल्याएर नाङ्गेझार बनाउने चेतावनी दिए ।
क्षेत्रीय सभापति कार्कीले अटेरी मेयर कृष्णहरि थापालाई नेपाली कांग्रेसले प्रारम्भीक चरणमा सम्झाएको बताउँदै मागको सुनुवाई नभए सडकबाट जेपनि हुन सक्ने चेतावनी दिएका छन् ।
संघर्ष समितिका संयोजक शंकर थापाले मेयर कृष्णहरि थापाको भ्रष्टाचार र अनियमितताका विरुद्ध नेपाली कांग्रेसले शुरु गरेको संघर्षले अटेरीहरूलाई बढारेर लैजाने बताए । उनले कांग्रेसका मागको सुनुवाई नभए सडक आन्दोलनबाट भ्रष्टहरूलाई बढार्ने चेतावनी दिएका छन् । उनले आवश्यक प¥यो भने मेयरलाई नगरपालिकाभित्र प्रवेश गर्न नदिने चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसले विरोध सभामा कम्युनिस्ट मेयर कृष्णहरि थापाले शिक्षा क्षेत्रमा गरिएका राजनीतिकरण अन्त्य र नगर शिक्षा ऐन खारेजी गर्नुपर्ने, बालुवा ठेक्कामा भएको करीव ३ करोडको अनियमितताको छानविन गरेर कारबाही गर्नुपर्ने, स्मार्ट सिटीका नाममा रोक्का गरिएको जग्गा फुकुवा गर्नुपर्ने, कित्ताकाट सिफारिसका लागि लिइएको प्रतिआना दश हजार खारेजी गर्नुपर्ने माग गरेको छ ।
अस्तव्यस्त जग्गा प्लटिङ रोक्नुपर्ने, घरनक्सा पासमा मेयरको संरक्षणमा भइरहेको नक्सा निर्माण, स्ट्रक्चर, एनालाईसिस, अभिलेखीकरण लगायतमा भएको सिण्डिकेटको भण्डाफोर र चर्को जरिवाना शुल्क खारेजी हुनुपर्ने, वडा नम्बर ४ को जग्गा मदन भण्डारी फाउण्डेसनको नाममा विना कार्ययोजना बालुवा माटो जस्ता स्रोत साधन दुरुपयोग गर्नको लागि दिने प्रक्रियाको खारेजी गरिनुपर्ने माग कांग्रेसको छ ।
वडा नम्बर ७ कोसोमतीर्थको जग्गामा सुविधा सम्पन्न रंगशाला निर्माण गरिनुपर्ने, फोहर मैला व्यवस्थापनका नाममा लिइँदै आएको चर्को शुल्क घटाउनुपर्ने, सार्वजनिक चोक, मठ, मन्दिरलगायतको नियमित सरसफाइ गर्नुपर्ने, कान्तिभैरव माविको जग्गामा ६० करोको लागनमा नगरपालिकाको प्रस्तावित व्यापारिक भवनको सट्टा यस अगाडि सर्वदलीय बैठकले निर्णय गरेको वडा नम्बर ५ को स्वास्थ्य चौकी रहेको जग्गामा नगरपालिकाको भवन निर्माण गरिनुपर्ने नेपाली कांग्रेसले माग गरेको छ ।
नगरपालिकाभित्र नेपाली कांग्रेसको स्थानीय राजनीतिक दलको कार्यालयको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य क्षेत्रमा दरबन्दी बमोजिम शाखा प्रमुखको पदस्थापना एवम् प्रभावहीन शहरी स्वास्थ्य क्लिनिकको उचित व्यवस्थापन गरिनुपर्ने नेपाली कांग्रेसले विरोध सभामा माग गरेको छ ।
करारका कर्मचारीहरूलाई एक महिनाभित्र लोकसेवाको संलग्नतामा खुला प्रतिस्पर्धाका आधारमा नियुक्तिको व्यवस्था गरिनुपर्ने, नेपाली कांग्रेसको अगुवाईमा मूलपानीमा निर्माण भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न नगर अस्पतालको रुपमा तत्काल सञ्चालन गर्नुपर्ने माग कांग्रेसको छ ।
विरोध सभामा नेपाली कांग्रेसले कार्यपालिकाको बैठकको निर्णयहरू सार्वजनिक गर्नुपर्ने, नगर प्रमुखको प्रशासनिक हस्तक्षेप र अधिनायकवादी शैलीको अन्त्य गरिनुपर्ने, नगर परिषदद्वारा विभिन्न शीर्षकमा अपारदर्शी रुपमा राखिएको एजेण्डा रकम तत्काल कार्यक्रमसहित सम्बन्धित वडामा विनियोजन गरिनुपर्ने भनेको छ ।
विकास निर्माणमा भएको ढिलासुस्ती अन्त्य गर्नुपर्ने, मनोहरा नदीको संरक्षण र करिडोर निर्माण अगाडि बढाउनुपर्ने, नेपाल ट्रष्टको नाममा रहेको नगर क्षेत्रको जग्गा एकीन गरी त्यहाँ सञ्चालित गोकर्ण फरेस्ट रिर्सोट तथ गल्फ क्लवर्ला नगरको राजश्वको दायरामा ल्याउनुपर्ने माग नेपाली कांग्रेसले राखेको छ ।
नगरपालिकाभित्र प्रत्येक वडामा फिल्टर प्लान्ट सहित स्वच्छ खानेपानी तथा ढल व्यवस्थापन र सार्वजनिक शौचालय निर्माण गरिनुपर्ने माग नेपाली कांग्रेसले राखेको छ ।
नेपाली कांग्रेसले दमकल र शव बहानको व्यवस्था, सुरक्षाका लागि सीसीटीभी राख्नुपर्ने, बाल उद्यान, जेष्ठ नागरिकका लागि भवन, बसपार्क निर्माण, पार्किङ, सडक बत्तीको व्यवस्था गर्नुपर्ने, छाडा गाईबस्तु र छाडा कुकुरको व्यवस्थापन गर्न भनेको छ ।
पुवारगाउँ कृष्ण मन्दिर हुँदै आलपोट जाने सडक तत्काल स्तरोन्नती गरिनुपर्ने, कागेश्वरी चक्रपथ अन्तर्गत महादेव खोला पुल, डाँछी भद्रवास लगायतका खण्डमा तत्काल ड्रेन निर्माण गरी सडक कालोपत्रे गर्नुपर्ने, थली जौटार सडक निर्माण कार्य तत्काल सम्पन्न गर्नुपर्ने, वडा नम्बर ६ का वडाध्यक्षको संलग्नतामा भएको सरकारी जमिनको अनियमितताको छानविन हुनुपर्ने साथै ग्रिनहिल सिटीले उपलब्ध गराउनुपर्ने सडक र खानेपानीको योजना तत्काल पूरा गर्नुपर्ने नेपाली कांग्रेसले माग गरेको छ ।
विरोध सभामा नेपाली कांग्रेसका नेताहरू लोकेश ढकाल, गोविन्द पुडासैनी, मनहरि खड्का, भद्रा भण्डारी, प्रतिमा गौतम, पवित्रा लामिछाने, विमला ठकुरी,हरिशरण नेपाली, राधेश्याम दाहाल, कृष्णबहादुर थापा, भक्तलाल नगरकोटी, कुमारबिक्रम थापा, संजीव पौडेल, सूर्यबहादुर केसी, शंकरबहादुर विष्ट, सहदेव कार्की, हरिभक्त पुडासैनी, ज्याति दाहाल, डोजाङ शेर्पा, कवीर शर्मा, श्रीकृष्ण थापा, सीताराम आचार्य, शर्मिला थापा, मनहरि खड्का, दिनेशबिक्रम शाहलगायत सयौँको सहभागिता रहेको थियो ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया