दाङमा कम्युनिस्ट प्रदेश सांसद खत्रीको जुलुस गर्न विद्यालय बन्द

तुलसीपुर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट दाङ क्षेत्र नम्बर ३ ‘ख’बाट विजयी भएकी प्रदेश सांसद विमला खत्रीको विजय र्‍यालीमा सहभागी हुन विद्यालय नै बन्द गरेर शिक्षकहरू नारावाजी गर्न उत्रिएका छन् ।

दाङको दंगीशरण गाउँपालिका वडा नम्बर ३ पदमपुरमा रहेको सरस्वती आधारभूत विद्यालयका शिक्षकहरू प्रदेश सांसद खत्रीको विजय र्‍यालीमा सहभागी हुन विद्यालय बन्द गरेका हुन् ।

सोमबार बिहान विद्यालय आएका विद्यार्थीलाई समेत शिक्षकहरूले र्‍यालीमा सहभागी हुन निर्देशन दिएका थिए ।

विद्यालयका ११ जना शिक्षकहरू विद्यालय बन्द गरेर नेकपाकी प्रदेश सांसद खत्रीको विजय उत्सवमा सहभागी भएका हुन् ।

कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा कम्युनिस्ट शिक्षक नेताहरूको हालीमुहाली छ ।

विद्यालयका प्रधानाध्यापक ज्योति चौधरीले विजय जुलुसमा सहभागी हुनुपर्ने भएकाले दिउँसै विद्यालय बन्द गरिएको बताए ।

विजय जुलुसको तयारी र व्यवस्थापनमा शिक्षकहरू लाग्नुपर्ने भएकाले विद्यालय बन्द गरिएको उनले बताएका छन् ।

‘विद्यार्थी ¥यालीमा र शिक्षकहरू तयारीमा जुटेका हौं’, प्रधानाध्यापक चौधरीले भने, ‘खानपानको व्यवस्थापन गर्ने शिक्षकलाई परिचालन गरिएको छ ।’

विद्यालयमा ११ जना शिक्षक कार्यरत छन् । एक सय पचास जना विद्यार्थी रहेका छन् ।

र्‍यालीले विद्यालयमा असर पर्ने भएपछि विद्यालय नै बन्द गरेर तयारी गरेको प्रधानाध्यापक चौधरीले बताए ।

चौधरी पूर्वमाओवादी निकट शिक्षक संगठनका पूर्व जिल्ला अध्यक्ष हुन् ।

विद्यालय बन्द गरेर नै राजनीतिक दलको विजय जुलुसमा सहभागी भएकोप्रति अभिभावकहरूले विरोध गरेका छन् ।

‘हामीले हाम्रा बालबालिका पढाउन पठाएका हौँ’, एक जना अभिभावकले भने, ‘राजनीति गराउन पठाएका होइनौँ ।’

Published : Tuesday, 2019 December 3, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया