मतदातालाई दिए तिलक राईले धन्यावाद, अब हुनेछ धरानमा कांग्रेसको कमाल (तस्वीर)

धरान । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएपछि एतिहासिक विजयी र्‍याली निकालिएको छ ।

नेपाली कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले धरानमा सोमबार विजयी र्‍याली निकालेका हुन् ।

मतगणनाको अन्तिम नतिजा आएपछि मुख्य निर्वाचन अधिकृतले मेयरमा नेपाली कांग्रेसका तिलक राई विजय घोषणा गर्ना साथ विजयी र्‍याली निकालिएको हो ।

नेपाली कांग्रेसले आफ्ना मतदाताहरूलाई धन्यवाद दिएको छ । धरानको पब्लिक उच्चमाविबाट र्‍याली निकालिएको थियो ।

र्‍यालीमा नवनिर्वाचित मेयर तिलक राई, नेपाली कांग्रेस नेता डा.शेखर कोइरालासहित विभिन्न नेता, कार्यकर्ता तथा शुभेच्छुकहरू सहभागी थिए ।

यसैबीच, धरानका नवनिवार्चित मेयर तिलक राईले स्थानीय तहमा सत्ता र प्रतिपक्ष नहुने भएकाले सबैसँग मिलेर काम गर्ने आफू ईच्छुक रहेको बताएका छन् ।

मेयरमा विजयी भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उनले सबै जनप्रतिनिधिसँग मिलेर नै धरानको विकास र समृद्धिको लागि काम गर्ने बताए ।

धरानका जनताले मत दिएर आफूलाई जिताएको भन्दै राईले आफूले नेपाली कांग्रेसको मतले मात्र नजितेको बताए ।

‘मलाई धरानका जनताले जिताउनु भएको हो । यो जनताको जित हो । मैले नेपाली कांग्रेसको मतले मात्र जितेको होइन’, उनले भने, ‘सबै दल र जनप्रतिनिधिसँग मिलेर नै काम गर्छु ।’

धरानको कार्यपालिकामा नेकपाको दुईतिहाइ बहुमत छ । नेपाली कांग्रेसको मेयर र ५ जना वडाध्यक्ष हुनेछन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपमेयरसहित २४ जना हुनेछन् । उनले जनताको अभिलाषालाई सबैले मिलेर पूरा गर्ने बताए ।

धरानमा भएको विकृति, विसंगती रोक्ने र पारदर्शी भएर काम गर्ने राईले बताए । ‘म भ्रष्टचार गर्दिन, अरुलाई पनि गर्न दिन्न’, उनले भने, ‘शून्यसहनशीलतामा काम गर्छु । विगतको भ्रष्टचारमा तुरुन्त एक्सनमा जान्छु ।’

‘विगतमा भएको कमीकमजोरीहरूलाई सुधार्छु’, उनले भनेका छन् ।

राईले मेयरको तलब, भत्ता आफूले उपभोग नगर्ने र सामाजिक काममा खर्चिने प्रतिवद्धता पुनः दोहोर्‍याएका छन् ।

Published : Tuesday, 2019 December 3, 11:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया