देउवाले खोले पोखरामा कांग्रेस हार्नु र बम पड्किनुको भित्री कारण

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर १५ गते सम्पन्न उपनिर्वाचनमा कम्युनिस्ट सरकारले धाँधली गरेको आरोप लगाएका छन् ।

कांग्रेस नेता भीमबहादुर तामाङको सातौं स्मृतिसभाको अबसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रहरी, प्रशासन लगाएर कम्युनिस्ट सरकारले उपनिर्वाचनमा धाँधली गरेको बताएका हुन् ।

उपनिर्वाचनमा प्रहरी प्रशासनको भूमिका निष्पक्ष नरहेको उनले बताए । ‘पोखरामा नेपाली कांग्रेसले जित्ने ठाउँमा बम पड्काएर षड्यन्त्र गरियो’, उनले भने, ‘निर्वाचनको दुई दिनअघि मात्रै प्रहरीको सरूवा गरियो ।’

सभापति देउवाले भने, ‘प्रहरी निष्पक्ष नहुँदा नहुँदै पनि भक्तपुर, धरान र चितवनमा नेपाली कांग्रेसले जित्न सफल भएको छ ।’

देउवाले उपनिर्वाचनमा भएको धाँधलीको विषयमा नेपाली कांग्रेसले थप अध्ययन गरिरहेको बताए । उनले छानबिनका लागि निर्वाचन आयोगमा दबाब दिने बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालासहितका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

Published : Monday, 2019 December 2, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया