चिकित्सक संघमा लोकतान्त्रिक समूहबाट डा.कार्की अध्यक्षका उम्मेदवार

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा नेपाली कांग्रेस निकट मामिने ( लोकतान्त्रिक समूह)ले डा.लोचन कार्कीलाई अध्यक्ष पदमा उठाउने निर्णय गरेको छ ।

डा. कार्की अहिले एनएमएको महासचिव छन् । माघमा संघको निर्वाचन हुँदै छ ।

लोकतान्त्रिक समूहबाट पहिले नै महासचिव भएका डा.भुपेन्द्रकुमार बस्नेत र कार्कीले अध्यक्षमा दावी गरेपछि उम्मेदवार छान्नका लागि वर्तमान अध्यक्ष डा मुक्तिराम श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको थियो ।

सो समितिमा पूर्वअध्यक्षहरू डा.केदार नरसिंह केसी, डा.अञ्जनीकुमार झा, डा.चोपलाल भुसाल लगायत सदस्य थिए ।

‘अध्यक्षमा दुई जनाले इच्छा देखाउनु भएको थियो’, डा.केदार नरसिंह केसीले भने, ‘हामी सबैजना बस्यौँ र छलफल गरी डा.लोचन कार्कीलाई अध्यक्षमा उठाउने सर्वसम्मत निर्णय गर्‍यौँ ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रगतिशील समूहबाट अध्यक्ष पदमा यसअघि नै डा.पुष्पमणि खरालले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

बिक्रम संवत २००७ साल फागुण २० गते स्थापना भएको एनएमएलाई नेपालको पहिलो व्यावसायिक संस्था मानिन्छ ।

आगामी माघमा हुने निर्वाचन एनएमएको २८ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन हो ।

Published : Thursday, 2019 November 14, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया