कांग्रेसको प्रतिक्रियाले बालुवाटारमा खैलाबैला, कम्युनिस्टहरूलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश प्रमुख बर्खास्त गर्ने निर्णयलाई अतार्किक एवं कम्युनिष्ट सत्ताको असफल दिशामा जान खोज्ने संकेत प्रवाह गर्न खोजिएको घटनाको रुपमा लिएको जनाएको छ ।

पदाधिकारीहरूको बैठकपछि मंगलबार साँझ जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘संघीयता कार्यान्वयनको क्रममा संस्थापक प्रदेश प्रमुखहरुलाई आफ्नो समयावधिसम्म कार्य गर्न नदिएर अशोभनीय तवरले सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको छ ।’

‘सरकारको ध्यान मुलुकको आर्थिक समृद्धितर्फ हुनु पर्नेमा संघीयता कार्यान्वयन सम्बन्धी अनेक कार्यभार बाँकी छदाछदै यो विषयमा प्रवेश गर्नु अत्यन्त गलत भएको छ’, नेपाली कांग्रेसले भनेको छ ।

‘सरकारको यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ’, विज्ञप्तिमा नेपाली कांग्रेसले भनेको छ, ‘आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरूको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत समेत रहेको ठहर आजको बैठकले गरेको छ ।’

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले सात प्रदेशका प्रदेश प्रमुखहरू हटाएर आफ्ना पार्टीका नेताहरूलाई प्रदेश प्रमुख बनाएर पठाए लगत्तै नेपाली कांग्रेसले औपचारिक रुपमा विरोध जनाएको हो ।

Published : Tuesday, 2019 November 5, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया