प्रदेश प्रमुख प्रकरणमा कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन गर्ने देउवाको चेतावनी

ठोकर्पा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले प्रदेश प्रमुखहरूलाई हटाउने निर्णय गलत रहेको बताएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १ मा रहेको बाघभैरव माध्यमिक विद्यालयको नयाँ भवनको सोमबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रदेश प्रमुखहरू हटाउने निर्णय नसच्याउने हो भने कांग्रेस आन्दोलनमा उत्रने चेतावनी दिए ।

नेपाली कांग्रेसका सभापति देउवाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले गरेको निर्णय फिर्ता गर्न बाध्य पार्ने गरेर आन्दोलन हुने चेतावनी दिए ।

‘प्रधानमन्त्री ओलीसँग भेटघाटमा प्रदेश प्रमुखहरू यथावत राख्ने बचन दिनुभएको थियो’, उनले भने, ‘तर एक्कासि हटाउने निर्णय गर्नुभएछ ।’
नेपाली कांग्रेसका सभापति देउवाले भने, ‘यो गलत कामको विरुद्ध हामी भण्डाफोर गर्छौं ।’

सभापति देउवाले कम्युनिस्ट सरकारले नेपाली कांग्रेसले चुनाव जितेका स्थानीय तहहरूमा बजेट लगायत अन्य कार्यहरूमा विभेद गरेको आरोप पनि लगाए ।

कम्युनिस्ट सरकारले धेरै गलत काम गरिरहेको नेपाली कांग्रेसका सभापति देउवाको भनाई थियो ।

एसियाली विकास बैंकको साढे नौ करोढ रुपियाँको लागतमा निर्माण भएको विद्यालय भवनको उद्घाटनमा पूर्व प्रधानमन्त्री समेत रहेको नेपाली कांग्रेसका सभापति देउवाले एसियाली विकास बैंकले नेपालको विकासमा धेरै सहयोग गरेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले राजनीतिक क्रान्ति सकिएकाले अब जिल्लाको विकासका लागि सबै दल एक भएर लाग्नुपर्ने बताए । उनले दुईतिहाइको कम्युनिस्ट सरकारले जनतालाई राहत दिन नसकेको बताए ।

‘यो कम्युनिस्ट सरकारले जनतालाई झुक्काउने मात्रै काम गरेको छ । सबैतिर कर बढाएर जनतालाई समस्यामा पारेको छ’, कांग्रेस नेता बस्नेतले भने, ‘कांग्रेसलाई यस्ता कुरा सैह्य छैन ।’ नेपाली जनतालाई नेपाली कांग्रेसले मात्रै राहत दिने उनले बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् प्रतिनिधि सभा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सासंद अग्नि सापकोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले सिन्धुबासीलाई धेरै फाइदा भएको दाबी गरे ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी लगायतले विद्यालयलाई अब नमूना बनाएर सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।

Published : Tuesday, 2019 November 5, 6:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया