कांग्रेसले हराएका पूर्वएमाले नेतालाई ओलीले दिए पुरस्कार

दमक । झापा जिल्लाको मेचीनगर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका विमल आचार्यसँग पराजित तत्कालीन नेकपा (एमाले)का विष्णु प्रसाइँलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पुरस्कृत गरेको छ ।

प्रसाइँलाई नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रदेश प्रमुख बनाएका हुन् ।

प्रसाइँलाई प्रदेश प्रमुख बनाउन प्रधानमन्त्री ओलीले पार्टीबाट निर्णय गराएका छन् । राजनीतिमा आफू संगसँगै जस्तै लागेका प्रसाइँलाई ओलीले न्याय दिएको झापाका नेकपाका नेताहरूले बताएका छन् ।

मेयरमा नेपाली कांग्रेसका आचार्यले २० हजार ७ सय ७६ मत ल्याएर विजयी हुँदा प्रसाइँले १९ हजार ४ सय २२ मत ल्याएका थिए ।

मेयर चुनावमा तेस्रो स्थानमा आएका माओवादी केन्द्रका हंशलाल राजवंशीले ७ हजार ६ सय ९४ मत ल्याएका थिए ।

राजनीतिक पददेखि नियुक्तिमा झापालाई विशेष स्थान दिँदै आएका ओलीले प्रदेश प्रमुखमा प्रसाइँलाई ल्याएको घटनाले ओलीको झापा मोहलाई दर्साएको छ ।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले समेत मेयरमा पराजितलाई प्रदेश प्रमुख बनाएकोमा आक्रोश पोखेका छन् ।

नेकपाको सचिवालय बैठकले चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, सिरहाका धर्मनाथ यादव, डलेल्धुराका गोबिन्द कलौनी, काठमाडौका शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ ।

सचिवालयले टुंगाएका ७ जनामा ३ जना पूर्व माओवादी ४ जना पूर्वएमालेको भागमा परेका छ्न् ।

विष्णु प्रसाइँ, सोमनाथ प्यासी, धर्मनाथ यादव र गोविन्द कलौनी पूर्व एमाले निकट हुन भने शेरचन, परियार र त्रिपाठी माओवादी पृष्ठभूमिका हुन् ।

सत्तारुढ दल समाजवादीले पनि एकजना प्रदेश प्रमुख दावी गरेपनि नेकपाले उसलाई भाग लगाएन । उपेन्द्र यादवको दलले प्रदेश प्रमुख नपाएपछि पार्टीभित्र खैलाबैला भएको छ ।

Published : Monday, 2019 November 4, 4:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया