चितवनमा कांग्रेसका उम्मेदवारहरू घोषणा, माओवादीकाे बैगनु भुल्न अपील

भरतपुर । नेपाली कांग्रेसले मंसिरमा हुन लागेको उपनिर्वाचनका लागि चितवनमा उम्मेदवार घोषणा गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको प्रमुख आतिथ्यतामा शुक्रबार भरतपुरमा आयोजित कार्यक्रममा तीन वटा वडामा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारहरूको घोषणा गरिएको हो ।

खैरहनी नगरपालिकाको वडा नम्वर ४ र ५ तथा भरतपुर महानगरपालिकाको वडा नम्वर १६ मा उपनिर्वाचन हुँदैछ ।

नगरपालिकाको कामको सिलसिलामा भरतपुरबाट कार्यालयतर्फ आउँने क्रममा खैरहनी – ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको ०७४ माघ ६ गते सवारी दुर्घटनामा निधन भएको थियो ।

भरतपुर १६ का वडाध्यक्ष चतुरमान गुरुङको क्यान्सरका कारण निधन भएको थियो ।

खैरहनीको २ वटै वडा नेपाली कांग्रेसले जितेको थियो । भरतपुर १६ मा तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए ।

खैरहनीस्थित पर्सा ब्याङ्केटमा आयोजित घोषणा सभामा आगामी उपनिर्वाचनका लागि खैरहनी – ४ मा हालका कार्यबहाक वडाध्यक्ष समेत रहेका देवबहादुर बस्नेत र खैरहनी ५ मा प्रतिमा कार्की बस्नेतले उम्मेदवारी दिने घोषणा गरेका हुन् । कार्की तत्कालीन वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन् ।

खैरहनीका दुबै वडामा नेपाली कांग्रेसले फराकिलो मतान्तरले जित हात पारेको थियो । भरतपुर १६ मा नेपाली कांग्रेसको तर्फबाट अमृत हमालले उम्मेदवारी दिने भएका छन् । शुक्रबार नै उम्मेदवारी घोषणा गरिएको छ ।

उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री डा. कोइरालाले नेपाली कांग्रेसले कसैसँग सम्झौता नगर्ने बताए ।

बिगतका कुराहरू बिर्सेर आगामी उपनिर्वाचनमा नेपाली कांग्रेसले नै कांग्रेसलाई जिताउने गरी प्रचार प्रसारमा खटिन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस खैरहनी नगर समितिका सभापति शशिकुमार खनियाँको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्वशिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माइली छोरी रेणु दाहाललाई समर्थन गरेको थियो ।

नेपाली कांग्रेसको समर्थनमा रेणु दाहालले मेयरमा जितेकी थिइन् । रेणुलाई जिताउन तत्कालीन माओवादी केन्द्रका कार्यकर्ताहरूले मत पत्र समेत च्यातेका थिए ।

Published : Friday, 2019 October 25, 7:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया