यी कम्युनिस्ट मन्त्रीबाट गगन थापा निरुत्साहित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद गगन थापाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको कामबाट उत्साही हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।

तिहार, नेपाल सम्बत् र छठ पर्वका अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंक केन्द्रीय समितिले बुधबार काठमाडाैंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा थापाले अर्थमन्त्री डा. युवराज खतिवडाका कारण प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो कामलाई गति दिन नसकेको बताए ।

नेपालको इतिहासमै बलियो कम्युनिस्ट सरकार बने पनि त्यसले वैज्ञानिक ढंगले काम गर्न नसकेको थापाले बताए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य थापाले अर्थमन्त्री डा.खतिवडाले अर्थमन्त्रीको जस्तो नभई नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रस्तुत भएकाले मुलुकको आर्थिक विकासको गति सहज ढंगले अघि बढन नसकेको पनि बताएका छन् ।

उनले भने, ‘सरकारको खर्च, राजस्व संकलन, वैदेशिक लगानी लगायतका आर्थिक सूचकहरु हेर्दा उत्साहित हुने अवस्था छैन ।’

थापाले नागरिकले वर्तमान सरकारबाट समृद्धि र विकासको अपेक्षा राखेता पनि सरकारले त्यसको सदुपयोग गर्न नसकेको बरु प्राप्त अवसरलाई समेत गुमाउन लागेको बताए ।

उनले मुलुकको समृद्धिको निम्ति आगामी दुई दशकसम्म ९ प्रतिशतसम्मको दिगो आर्थिक वृद्धिदर आवश्यक रहेको बताएका छन् ।

सांसद थापाले नेपाल राष्ट्र बैंकका कर्मचारीबाट राष्ट्र बैंकको स्वायत्तता कटौती हुँदै गएको सन्दर्भ उठेको सन्दर्भमा मुलुकको केन्द्रीय बैंकको रुपमा राष्ट्र बैंकको स्वायत्ततालाई अझ सशक्त तुल्याउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटीले बैंकका कर्मचारी युनियनहरू व्यवस्थापन पक्षको निम्ति मार्गदर्शक रहेको उल्लेख गर्दै संस्थाको उन्नतिको लागि रचनात्मक सहयोग गर्न युनियनलाई आग्रह गरे ।

सो अवसरमा डेपुटी गभर्नर शिबराज श्रेष्ठले राष्ट्र बैंक विशिष्ट उद्देश्य लिएको संस्था रहेको उल्लेख गर्दै बैंकले अवलम्बन गरेको नीतिका कारण वित्तीय क्षेत्रमा उल्लेख्य सुधार भएको बताए ।

नेपाल वित्तीय संस्था कर्मचारी संघका महासचिव राजीव शर्मा रेग्मी, वरिष्ठ उपाध्यक्ष माधवप्रसाद अधिकारी, पूर्व अध्यक्ष डा.सञ्जय मिश्र, संघको राष्ट्रि समितिका अध्यक्ष पदमराज रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा उपाध्यक्ष राजनप्रसाद रेग्मीले स्वागत मन्तव्य राखे भने अध्यक्ष रेशमराज रेग्मीले धन्यवाद ज्ञापन गरेका थिए ।

Published : Wednesday, 2019 October 23, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया