‘नेपाल–भारतसम्बन्ध यसरी सुधार गरौँ, पुरानै तरिकाले हुँदैन’

काठमाडौं । नेपाल–भारतसम्बन्धलाई लिएर सरोकारवालाहरू चिन्ता जनाएका छन् । उनीहरूले नेपाल–भारतवीचको सम्बन्धलाई नयाँ शिराबाट हेर्नुपर्ने सुझाव समेत दिएका छन् ।

नेपाल–भारत मैत्री समाजले शुक्रबार ललितपुरमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा धारणा राख्नेहरूले माथिल्लो तहमा दुई देशबीच सुमधुर सम्बन्ध देखिएपनि जनताको स्तरमा नेपालमा भारत विरोधी भावना रहेको बताए । उनीहरूले नेपालका जनतामा रहेको भारत विरोधी भावनालाई मत्थर बनाउन विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।

सहभागीहरूले नेपालमा भारतीय लगानी भित्र्याउन विशेष पहल गर्नुपर्ने बताए । उनीहरूले नेपाल–भारतवीच भएको विप्पा सम्झौता कार्यान्वयन गरेर नेपालमा लगानी भित्र्याउनुपर्ने बताए ।

सहभागीहरूले ईपिजीको प्रतिवेदन बनाउने समितिमा मधेसीलाई नराखेको भन्दै अपात्ति पनि जनाए । नेपाल र भारतबीच हुने सम्झौतामा मधेसीहरूलाई पनि अनिर्वाय रुपमा राख्नुपर्ने सुझाव दिइएको थियो ।

मधेसमा डुबान, चुरे संरक्षण गर्ने, विप्पा कार्यान्वयन, भारतको लगानी, सार्क सम्मेलनलगायतका विषयमा सहभागीहरूले कुरा राखेका थिए । भारतीय पक्षले ती सबै विषयमा आफूहरू पनि सचेत रहेको भन्दै दुई पक्षीय रुपमा सुधार गरेर जाने बताएका थिए ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता एवम् सांसद महेन्द्र राय यादवले नेपाल र भारतबीच सीमा क्षेत्र र तराईमा देखिएको समस्या समाधान गर्न सुझाव दिए । ‘नेपालमा रहेको भारत विरोधी भावना हटाउन तराई र सीमा क्षेत्रका समस्या समाधान गर्नुपर्छ’, उनले भने, ‘चुरेलाई बचाउनुपर्छ । डुबान र बाढीको समस्या समाधान गर्नुपर्छ ।’

नेपाली कांग्रेसका युवा नेता एवम् सांसद अभिषेकप्रताप शाहले नेपाल–भारतको सम्बन्धलाई अझै सुधार गरेर जानुपर्ने बताए । उनले दुई देशबीच देखिएका टेलिफोनसहितका विभिन्न समस्याहरूको जानकारी दिँदै त्यसको साधारको माग गरे ।

विमल केडियाले नेपाल र भारतबीच सम्बन्ध सुधार गर्ने भनिए पनि नेपालीहरूको सुझाव र आवाजलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पुग्न नदिइएको बताए । उनले भने, ‘हाम्रो आवाजलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदसम्म पुग्नुपर्छ । अहिलेसम्म हाम्रा आवाज बाटोमा हराउने गरेको छ । आगामी दिनमा हाम्रा आवाज बाटोमा हराउनु भएन ।’

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवालाले दुई देशको सम्बन्धलाई अझै नयाँ उचाइँमा पुर्‍याउनुपर्ने बताए । त्यसका लागि भारत तयार रहेको उनले बताए । ‘नेपालको आन्तरिक विषयलाई नेपालीहरू आफैले समाधान गर्नुपर्छ’, चौथाइवालाले भने, ‘नेपालमा राम्रो हो । विकास होस् । नेपाली जनता सुखी भएको हेर्न चाहन्छौँ ।’

नेपालका लागि भारतीय राजदूत मनजीवसिंह पुरीले नेपाल–भारतबीचको सम्बन्ध नयाँ उचाइँमा रहेको बताए । उनले नेपालको विकासमा भारतको सधै सहयोग र साथ रहने बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्दराज पोखरेलले नेपाल–भारतबीचको सम्बन्ध, विकास र विविध विषय समेटेर कार्यपत्र पेश गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा.रामशरण महत, राजपा नेपालका नेता महेन्द्र राय यादव, नेपाली कांग्रेसका युवा नेता एवम् सांसद अभिषेकप्रताप शाह, पूर्वराजदूत ज्ञानचन्द्र आचार्य, मानवअधिकारकर्मी चरण प्रसाइँ, नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी, विमल केडिया, नेतृ हिसिला यमी, सत्तारुढ नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाल, नेकपाका सांसद हृदयश त्रिपाठी, अधिकारकर्मी सुन्दरमणि दीक्षित, पूर्वसांसद सुरेन्द्र चौधरी, पूर्वसेनापति रूक्मङगत कटवाल, प्रदेश सांसद केशव स्थापित, पत्रकार युवराज घिमिरे, माथवर सिंह बस्नेत, नेपाल–भारत मैत्री समाजका अध्यक्ष प्रेम लस्करी, अधिकारकर्मी दमननाथ ढुंगाना, राजपा नेपालकी सांसद चन्दा चौधरी, राजपा नेपालका प्रदेश सांसद मनीष सुमन, राजपा नेपालका महासचिव केशव झा, सच्चितानन्द मिश्र, सगरमाथा टेलिभिजनका मालिक निर्मल गुरुङ, पूर्वराजदूत दुर्गेशमान सिंह, पुरुषोत्तम ओझालगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2019 August 2, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया