एसपी मल्लसँग डीआइजी र अख्तियार थुरुरु

भरतपुर । चितवन प्रहरीले २६ वटा चोरीको मोटरसाइकल र ५३ थान बिलबुकसहित असार १३ मा पक्राउ गरेका चोरी गिरोहका नाइके रोहित श्रेष्ठलाई सार्वजनिकमा मुद्दा चलाएर उन्मुक्ति दिएको छ ।

मोटरसाइकल चोरीमा संलग्न श्रेष्ठले मोटरसाइकल वर्कसप संचालन गर्दै आएका छन् । श्रेष्ठसहित चार जनालाई ०७६ असार १३ मा पक्राउ गरेको थियो ।

पक्राउ परेको १० दिनमै सार्वजनिकमा मुद्दा चलाएपछि श्रेष्ठ १० हजार धरौटीमा छुटेका छन् । श्रेष्ठलाई आर्थिक चितवन प्रहरीको चलखेलमा सार्वजनिक अपराधमा म्यादथप गरिएको सूचना ३ नम्बर प्रदेशका डीआइजी शेरबहादुर बस्नेतसम्म पनि पुगेको पुगेको थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पीएसओ बसिसकेर ‘प्रचण्ड’कै दबाबमा चितवनको एसपी बनेका दानबहादुर मल्लको आर्थिक चलखेल अगाडि बस्नेतको केही नलागेको स्रोतले जनाएको छ ।

डीआइजी बस्नेतले एसपी मल्ललाई केही गर्नसक्ने अवस्थामा छैनन् । डीआइजी बस्ने एसपी मल्लसँग निरीह जस्तै छन् । एसपी मल्लको पहुँच ‘प्रचण्ड’सम्म भएकाले जे गरेपनि डीआइजी बस्नेत मौन रहन विवश छन् ।

स्रोतका अनुसार १५ लाखमा बार्गेनिङ गरी १० लाखमा विजय विक नामका दलालमार्फत् पैसा बुझेर एसपी मल्लले श्रेष्ठलाई छुटाउन सार्वजनिक मुद्दा चलाएका हुन् ।

शुरुमा श्रेष्ठलाई पक्राउ गरेपछि ठूलो गिरोह पक्राउ गरेको भन्दै एसपी मल्लले नै पत्रकारहरूलाई जानकारी दिएका थिए । यो जानकारी दिएका एसपी मल्लले एकाएक उनीहरूलाई चोरीको मुद्दा नलगाई सार्वजनिक अपराधमा म्यादथप गरेपछि उनीहरूलाई पक्राउ गर्नुको उद्देश्य लाइन मिलाउन बार्गेनिङ रहेको आशंका गरिएको छ ।

जुन आशंका श्रेष्ठसहितका मोटरसाइकल चोरीको अभियोगमा पक्राउ परेकाहरू १० हजार धरौटीमा छुटेपछि पुष्टि भएको छ ।

भरतपुर महानगरपालिका–२० शारदानगरस्थित रोहित मोटरसाइकल वर्कसपमा नेपाल र भारतबाट चोरीका मोटरसाइकल ल्याई पाटपूर्जा विक्री वितरण हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले खनतलासी गर्दा पाटपूर्जाहरू बरामद गरेको प्रहरीले जनाएको थियो ।

चोरीका मोटरसाइलसहित पक्राउ परेका श्रेष्ठसँग घुसमा कुरा मिलाएर सार्वजनिक अपराधमा म्यादथप गरिनुले प्रहरीको नियत छर्लङ्ग भएको छ ।

इञ्जिन नभएका च्यासिस ८ थान बरामद गरेको प्रहरीले प्रेस विज्ञप्तिमै जानकारी दिएको छ । मोटरसाइकल चोरीका नाइके श्रेष्ठसँग एसपी मल्लका बिचौलिया विजय विकले १० लाख घुसमा सहमति गरेपछि एकाएक चोरीको मुद्दालाई सार्वजनिक अपराधमा परिवर्तन गरी म्यादथप गरिएको थियो ।

रोहित मोटरसाइकल वर्कसपबाट श्रेष्ठसँगै पक्राउ पर्नेमा भरतपुर २१ बस्ने २१ वर्षीय रोहित श्रेष्ठ, बाराको कलैया नगरपालिका–८ बस्ने १९ वर्षीय कृष्ण साह, कलैया–३ बस्ने १८ वर्षीय महावीर चौधरी र भारतीय नागरिक १४ वर्षीय राजा कुमार थिए । उनीहरूपनि छुटिसकेका छन् ।

उता, अर्का गिरोहका नाइके दीपु भनिने दीपेन्द्र श्रेष्ठसँग पनि एसपी मल्लले लाइन मिलाइसकेको स्रोत बताउँछ ।

दीपुको मनकामना वर्कसपमा काठमाडौं, पोखराजस्ता सहरबाट चोरीका मोटरसाइकल ल्याएर बिक्री गर्ने गरिन्छ । उनको वर्कसपमा चोरीका गाडीदेखि मोटरसाइकलको कारोबार हुने गरेको चितवन प्रहरीका जुनियर अधिकृतले जानकारी दिए ।

काठमाडौं, पोखरा जस्ता सहरबाट चोरीका मोटरसाइकल अधिकांश दीपुकै मनकामना वर्कसपमा पुग्ने गरेका छन् । चोरीका मोटरसाइकल मनकामना वर्कसपमा पुग्नासाथ अप्रेसन(खोलखाल) गरी अर्काे नयाँ मोटरसाइकल तयार पारिन्छ ।

त्यसो त महानगरीय ट्राफिक महाशाखाका अनुसार काठमाडौंबाट चोरी भएका ९० प्रतिशत मोटरसाइकल चितवन पुग्छन् । त्यहीँं तिनको खरिदबिक्री हुन्छ । खरिद बिक्री गर्ने गिरोहका नाइके दीपु र रोहित नै हुन् ।

चितवनका प्रहरी प्रमुख एसपी मल्लले उनीहरूसँग सेटिङ मिलाइसकेको रोहित पक्राउ र छुटेको प्रकरणले पुष्टि गरेको छ ।

चितवनमा माओवादी पृष्ठभूमि भएका नेकपाका केही नेताहरूको संरक्षण प्राप्त दीपुले हरेक प्रहरी प्रमुखलाई चितवनमा जानासाथ लाइन मिलाउने गरेका छन् । दीपक थापा एसपी हुँदा त दीपु श्रेष्ठ उनको क्वाटरमै बाक्लै जाने गरेका थिए ।

अपराध अनुसन्धान महाशाखामा कार्यरत प्रहरी सुरेन्द्र कार्की पनि मोटरसाइकलदेखि गाडी चोरीका कारोबारी दीपुका सूचनादाता हुन् ।

उनी चितवन जिल्ला प्रहरीमा कार्यरत हुँदा ५ वर्ष एसपीका घुमुवा थिए । चितवनमा लामो समय घुमुवा बसेका हाल अपराध महाशाखामै कार्यरत अर्का असई कमल क्षेत्री भन्ने कमल परियार पनि दीपु श्रेष्ठको लागि काम गर्दै आएको स्रोतको भनाइ छ ।

चितवन प्रहरीका प्रमुख एसपी मल्लका बारेमा विवादित र भ्रष्टाचारसँग जोडिएर बाक्लै समाचार आउन थालेका छन् । मल्लका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म मौखिक उजुरी परिसकेको छ । तर, प्रचण्डका पूर्व अंगरक्षक रहिसकेका एसपी मल्लसँग अख्तियार पनि डराएको चर्चा छ ।

एसपी मल्लविरुद्ध अख्यिारले स्टिङ अप्रेसन समेत गर्न डराएको स्रोतले जनाएको छ ।

Published : Tuesday, 2019 July 30, 11:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया