कांग्रेस बैठकमा अन्तरिम संरचना र महाधिवेशनको कार्यतालिका प्रवेश

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा अन्तरिम संरचनाका बारेमा छलफल भएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा १४औं महाधिवेशनको कार्यतालिकाबारे पनि छलफल भएको छ ।

क्रियाशील सदस्यहरूको तथ्यांक नयाँ संरचनाअनुसार नभएको र क्षेत्रीय प्रतिनिधिहरूको तथ्यांक केन्द्रीय कार्यालयसँग नरहेको महामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।

देशभरिका ४ लाख ७० हजार क्रियाशील सदस्यहरू सूची केन्द्रसँग छ । तर, स्थानीय तहको संरचना हेरफेर भएकाले नयाँ संरचनाअनुसार मिलाउन बाँकी छ ।

क्षेत्रीय प्रतिनिधिहरूको विवरण भने जिल्ला र क्षेत्रीय समितिसँग मात्र छ । सबै जिल्ला र क्षेत्रीय समितिहरूलाई ३ दिनभित्र विवरण पठाउन भनिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

यसअघि क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य र जिल्ला सभापति चयन गर्थे । उनीहरूको विवरण क्षेत्रीय र जिल्ला कार्यसमितिसँग मात्र रहेको थियो ।

पार्टीलाई संघीय संरचनाअनुसार बनाउन अन्तरिम संरचना बनाउने निर्णय गर्दा साविककै प्रतिनिधिहरूले भोट हाल्ने व्यवस्था गरिएको थियो ।

अब ३३० प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिमा अन्तरिम संरचना बनाउन क्षेत्रीय प्रतिनिधिहरूको खोजी शुरू भएको छ ।

कांग्रेसको निर्वाचन समितिले २४ साउनभित्र क्रियाशील सदस्य र क्षेत्रीय प्रनिनिधिको रि–लोकेट गरिएको विवरण उपलब्ध गराए १० भदौमा प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरू बनाइसक्नेछ ।

बैठकमा प्राविधिक काममै समय लाग्ने रिपोर्टिङ गरेपछि केन्द्रीय सदस्य महेश अचार्यले असन्तुष्टि जनाएका छन् । पार्टीको विधानअनुसार केन्द्रीय महाधिवेशन हुनु एक वर्ष पहिले स्थानीय तहको संरचना बनाउनु पर्नेभन्दै उनले ढिलोमा फागुनभित्र त्यो काम हुनुपर्ने बताएका थिए ।

त्यो समयमा त अन्तरिम संरचना बनाउन समेत मुस्लिक देखिएको भन्दै आचार्यले के विकल्प छ भन्दै पदाधिकारीलाई प्रश्न गरेका छन् ।

उपसभापति विमलेन्द्र निधिले भने त्यही विकल्पको खोजीका लागि बैठक राखिएको जवाफ दिएका छन् । उनले अन्तरिम संरचना नबनेसम्म १४औं महाधिवेशनको कार्यातालिका बन्न नसक्ने समेत प्रष्ट पारेको जनाइएको छ ।

बैठकमा उपसभापति विजयकुमार गच्छदारले नेपाली कांग्रेस भएकै कारण आफूलाई बालुवाटार जग्गा विवादमा मुछ्ने प्रयास गरेको गुनासो गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक शुक्रबार दिउँसो एक बजे पार्टी कार्यालय सानेपामा बस्ने गरेर स्थगित भएको छ ।

000

श्रावण ९, २०७६

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।

आजको बैठकमा एजेण्डाको दोस्रो वुँदा पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरीम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा छलफल केन्द्रीत रहेको थियो ।

बैठकमा केन्द्रीय सदस्यहरु— महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, मिन विश्वकर्मा, मोहनबहादुर बस्नेत र देवेन्द्रराज कँडेलले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि २०७६ श्रावण १० गते शुक्रबार दिउँसो १ बजे पुनः बस्नेछ ।

समवेदना

पाँचथर जिल्ला नेपाली कांग्रेस फिदिम नगर कार्यसमितिका सभापति एवं सोही नगरपालिका वडा नं. १ का निर्वाचित वडा अध्यक्ष हर्कबहादुर मोक्तान, मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. १ इकाई सचिव एवं नेपाल भूतपूर्व सैनिक संघ जिल्ला उपाध्यक्ष ५९ वर्षीय बोमबहादुर राउत र बाजुरा जिल्ला साविक छतारा गाउँ कार्यसमितिका सभापति वर्ष ३८ का महारुद्र न्यौपानेको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ ।

उहाँहरुले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठनमा पु¥याउनु भएको सक्रिय योगदानको नेपाली कांग्रेस स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामना गर्दछ । साथै, उहाँहरुका सबै शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।

कृष्णप्रसाद पौडेल

मुख्य सचिव

Published : Thursday, 2019 July 25, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया