भाइरल बने पूर्वएमाले निकटका मेयर चौधरी, घाेराहीमा देखाइ छाडे ‘हर्कत’
घोराही । दाङ जिल्लाको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले नेपाल प्रहरीको सलामी लिएर विवादित बनेका छन् ।
तत्कालीन एमालेबाट मेयरमा निर्वाचित चौधरीले आइतबार घोराही उपमहानगरपालिकाको गुजरी बजार नजिकै रहेको वडा प्रहरी कार्यालयमा प्रहरीको सलामी लिएका हुन् । चौधरीको यो कार्यको धेरैले आलोचना गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् एसपी बेलबहादुर पाण्डेले सलामीको विषयलाई अन्यथा लिन नहुने प्रतिक्रिया दिएका छन् ।
‘वडा प्रहरी कार्यालयको पर्खाल र गेट उपमहानगरपालिकाले भत्काएर बनाइदिएको थियो’, एसपी पाण्डेले भने, ‘पर्खाल र गेटको उद्घाटन कार्यक्रम थियो । औपचारिक कार्यक्रम भएकाले प्रहरीले मेयरलाई सलामी दिएको हो ।’
मन्त्रीहरूले समेत जिल्लामा प्रहरीको सलामी लिँदैनन् । तर, मन्त्रीहरूलाई समेत चकित पार्ने गरेर मेयर चौधरीले सलामी लिनुलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् ।
८–१० वर्ष अगाडि नेपाली कांग्रेसको तर्फबाट तत्कालीन समयमा मन्त्री बनेका अर्जुन नरसिंह केसीले जिल्लामा प्रहरीबाट सलामी लिएको तस्वीर सार्वजनिक हुँदा आलोचना भएको थियो । त्यसपछि जिल्लामा प्रहरीसँग सलामी लिने परम्परा हटेको थियो ।
केसीको त्यो काण्ड भुलाउने गरेर आइतबार कम्युनिस्ट पार्टीका नेता समेत रहेका मेयर चौधरीले हर्कत देखाएका छन् ।
दुईतिहाइको कम्युनिस्ट सरकारको आलोचना भइरहेका बेला नेकपाका केन्द्रीय सदस्य समेत रहेका मेयर चौधरीले प्रहरीबाट सलामी लिएको विषयले दाङ जिल्लासहित देशभरि चर्चा पाएको छ ।
रातो रुमालले पिर्कालाई छोपेर सो पिर्कामाथि मेयर चौधरीलाई राखेर सलामी दिइएको छ ।
यसअघि विभिन्न नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्षहरूले सलामी लिएको विषय विवादमा परेको थियो । विवाद हुन्छ भन्ने जान्दा जान्दै मेयर चौधरीले ‘राजा’कै शैलीमा प्रहरीको सलामी लिएर आलोचित बनेका छन् ।
मेयर चौधरीको यो हर्कतको सत्तारुढ नेकपाकै नेता तथा कार्यकर्ताहरूले विरोध जनाएका छन् । मेयर चौधरी सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
गरिव जनताको लागि राजनीति गरेको बताउने कम्युनिस्ट पार्टीकै नेता र मेयरहरूलाई सम्मान, सलामी र गुलामीको भुत चढेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
दाङ जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेकपाका सांसद कृष्णबहादुर महरा सभामुख छन् । प्रदेश ५ का मुख्यमन्त्रीका रुपमा शंकर पोखरेल छन् । दाङमा उनीहरूले प्रहरीको सलामी लिँदैनन् ।
मुख्यमन्त्री पोखरेल निकट मानिने मेयर चौधरीले किन सलामी लिएका हुन् भनेर नेकपाभित्रै खोजविन शुरू भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया