गगनको तर्क सुनेर कम्युनिस्ट सरकारका अर्थ मन्त्री मख्ख, बालुवाटार किन्ने पौडेललाई दिक्क

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले कम्युनिस्ट सरकारले ल्याएको बजेटको तर्कसंगत आलोचना र टिप्पणी गरेका छन् ।

मंगलबार संसदमा बजेटमाथिको छलफलमा सहभागी हुँदै नेपाली कांग्रेसका सांसद थापाले बजेटको आलोचना गरेका हुन् । थापाले कम्युनिस्ट सरकारले ल्याएको बजेटलाई आफूले बुझ्न नसकेको बताए ।

कांग्रेसका युवा नेता एवम् सांसद थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले सोमबारको संसद बैठकबाट दिएको चुनौतीलाई स्वीकार गर्ने बताएका छन् ।

बजेटमाथिको छलफलका क्रममा महासचिव पौडेलले वृद्ध भत्ताका बारेमा प्रतिपक्षी दललाई दिएको चुनौतीलाई नेता थापाले जस्ताको त्यस्तै स्वीकार गरेको बताए ।

‘हुन त एक जना बलवान सांसद, जसले बालुवाटारको जगै हल्लाइदिने हिम्मत राख्नुहुन्छ– यहाँ उभिएर चुनौती दिनुभयो– वृद्धभत्ताका बारेमा बोल्ने हिम्मत छ ?’, थापाले भने, ‘मेरो हिम्मत छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले विदा लिँदै गर्दा ६५ वर्षको उमेरमा पाँच हजार वृद्धभत्ता पुर्‍याउँछु भनेर भन्दै गर्दा हचुवाको भरमा वृद्धभत्ता बढाउन पाइँदैन भनेर विरोध गरेको मात्रै होइन । कानून बनाउँदै गर्दा ७० वर्षभित्रलाई आधार वर्ष बनाउनुपर्छ भनेर उमेर झार्न पाइँदैन भनेर कानून संशोधन गर्न लगाउने सांसद हुँ म ।’

नेपाली कांग्रेसका सांसद थापाले सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र नभएर गैरनगदको प्रबन्ध गरेर पनि सामाजिक सुरक्षा गर्न सकिने बारेमा सरकारलाई सुझाव दिए ।

‘सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र होइन’, उनले भने, ‘गैरनगदको प्रवन्धबाट तीन हजारमात्र होइन, ३० हजारको सुविधा प्राप्त गर्ने अवस्था कसरी बनाउने भन्ने बारेमा छलफल गर्ने कुरा वाञ्छनीय छैन ?’

बलियो सरकारले विद्धवान् अर्थमन्त्री पाएर पनि देशलाई केही दिन नसकेको कांग्रेस नेता थापाले बताए । ‘यत्रो बलियो कम्युनिस्ट सरकारले विद्धान अर्थमन्त्री पाउँदै गर्दा देशले के पाउने भए त सभामुख महोदय ?’, उनले भने, ‘बाआमाले हजार रुपियाँ, निर्वाचन क्षेत्रको कार्यक्रममा थप दुई करोड । तपाईंको नाम यिनै दुई कामले राख्नमा सन्तोष मान्न खोज्नुभएको हो भने मेरो भन्नु केही पनि छैन ।’

थापाले प्रतिपक्षी दलको सांसदका रुपमा आफूलाई खुसी लागिरहे पनि आमनागरिकको हैसियतमा आफू दुःखी भएको बताए । ‘प्रत्यक्ष निर्वा्चित सांसद हुँ म, विकासको माग मलाई पनि थाहा छ । प्रतिपक्षको सांसद भएर खुसी लागेको छ’, नेपाली कांग्रेसका सांसद थापाले भने, ‘नागरिक भएर सोच्छु– फेरि अझै तीन वर्ष यही सरकारले बजेट बनाउँछ । मेरो नागरिकका रुपमा रहेको तीन वर्ष अझै खेर जाने भयो । यत्रो अनुकूलको अवसर खेर जाने भयो । नागरिक भएर दुःख लागेको छ ।’

उनले अर्थमन्त्री खतिवडालाई प्रश्न गरे, ‘अर्थमन्त्रीज्यूलाई सोध्न चाहन्छु– सांसद भएर खुसी होउँ कि नागरिक भएर दुःखी होउँ ? म खुसी होउँ कि दुःखी होउँ अलमलमा परेको छु ।’

Published : Tuesday, 2019 June 4, 3:38 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया