कांग्रेस सिध्याउने अन्तरघातीहरूविरुद्ध कठोर बने ललितपुरका युवा नेताहरू

ललितपुर । निर्वाचनका बेला नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई हराउन भूमिका खेलेका अन्तरघातीहरूलाई छुट दिने तयारी भएपछि ललितपुर कांग्रेसभित्र विरोध भएको छ ।

नेपाली कांग्रेसको जागरण अभियान चलिरहेका बेला केही नेताहरूले अन्तरघातीहरूलाई छुट दिने गरेर अभिव्यक्ति दिनुका साथै गतिविधिहरू गरेपछि ललितपुर कांग्रेसका युवा नेताहरूले असन्तुष्टि जनाएका हुन् ।

नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति मदनबहादुर अमात्यले पार्टीको संगठन केही समय सुस्ताएको तर पार्टी कमजोर नभएको बताएका छन् । उनले पार्टीभित्र अन्तरघात गर्नेहरूलाई एक वर्ष कुनै पनि कार्यक्रममा सहभागी नगराउने उद्देश्यले पार्टीमा कुनैपनि गतिविधि नगरेको बताए ।

सभापति अमात्यले नेपाली कांग्रेसको इकाई भवन निर्माण गर्न आफ्नो व्यक्तिगत तर्फबाट प्रत्येक एकाईलाई ५० हजारका दरले सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

राष्ट्रिय जागरण अभियानका केन्द्रीय प्रतिनिधि एवम् केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले गाउँ, वडामा कार्यक्रम गर्न, संगठन बिस्तार गर्न केन्द्रको निर्देशन पर्खनु नपर्ने बताए । गतिशीलता नहुनु, अन्तरघात हुनु, संगठन कमजोर भएका कारण कांग्रेसले अहिलेको निर्वाचनमा पराजित हुनुपरेको नेता पाण्डेले बताए । उनले कांग्रेसले ल्याएको आर्थिक नीति र विचारले विजय प्राप्त गरेको बताएका छन् ।

पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले चुनाव हारेपछि पार्टीका गतिविधि पातलो हुँदै आएको स्वीकार गरे । उनले विकास निर्माणले मात्रै चुनाव नजित्ने भएकाले संगठन पनि बलियो हुनुपर्ने पाठ आफूहरूले सिकेको बताए । उनले अहिलेको सरकार स्थानीय तहलाई कमजोर बनाउन लागिपरेको बताए । युवा नेता राणाले पनि कांग्रेसका अन्तरघातीहरूलाई छुट दिन नहुने बताए ।

नेपाली कांग्रेस ललितपुरबाट प्रदेश सांसदका उम्मेदवार एवम् युवा नेता मीनकृष्ण महर्जनले पार्टीलाई नोक्सानी गर्ने अन्तरघातीहरूलाई माफी दिन नहुने बताए ।

‘ललितपुर जिल्ला सभापतिज्यूले अन्तरघातहरूलाई अनुशासनको कारबाहीमा माफी दिएपनि कार्यकर्ताहरूले माफी ती अन्तरघातीहरूलाई माफी दिने र्छनन्’, महर्जनले भने ।
जागरण अभियान अन्तर्गत विभिन्न स्थानहरूमा भएका कार्यक्रमहरूलाई सम्बोधन गर्ने क्रममा युवा नेता महर्जनले अन्तरघातका कारण चुनावमा कांग्रेसका उम्मेदवारहरू पराजित भएको बताए । उनले भने, ‘कांग्रेसले जितेको निर्वाचन पनि अन्तरघातीहरूका कारण हारेको छ । धेरै कार्यकर्ताहरूको मन रोएको छ ।’

नेता महर्जनले प्रश्न गर्दै भने, ‘यसरी नै अन्तरघातीलाई छुट दिँदै जाने हो भने अर्को निर्वाचनमा ती अन्तरघातीहरूले टिकट पायो भने अनि आफूले त्यो अन्तरघातीलाई सहयोग गर्ने कि नगर्ने ? भनेर नैतिक प्रश्न आउनेछ ।’

‘अनि मैले सहयोग गरेन भने त्यो बेलामा मलाई कारबाही हुनेकी नहुने ? अहिले म चुनाव हार्दा कार्यकर्ताहरू निराश भएका छन् । ती अन्तरघातीहरूलाई कांग्रेसका कार्यकर्ताले भविष्यमा भोट हाल्छ न त ?’, युवा नेता महर्जनले प्रश्न गर्दै भने, ‘तपाईहरूलाई थाहा नै छ चापागाउँमा २० हजार मतदाता छन् । त्यसमा मेरा नातागोता मात्र २–३ हजार छन् । त्यो बेलामा ती अन्तरघाती उम्मेदवारले टिकट पाए भने के मेरो नातागोताले भोट हाल्छ ? हाल्दैनन् । यस्ता अन्तरघातीले गर्दा आज नेपाली कांग्रेस कमजोर बन्दै गएको छ ।’

कांग्रेसका युवा नेता महर्जनले भने, ‘ती अन्तरघातीले उसका नातागोतालाई ‘सूर्य’मा भोट हाल्नु भनी मोबाईलमा फोन गरेको फोन रेकर्ड मसंग सुरक्षित छ ।’ महर्जनले जम्मा पाँच सय मतअन्तरले प्रदेश सभामा पराजित भएका थिए ।

यसैबीच, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रम ललितपुरमा अन्तिम चरणमा पुगेको छ ।

नेपाली कांग्रेस ललितपुरले जागरण अभियानलाई शहरदेखि गाउँसम्म कार्यक्रम गर्दै लगेको छ ।

वैशाख २५ गते अशोक पार्टी पालेसबाट शुरू गरेको जागरण अभियान जेठ २४ गते मंगलबजारमा विशाल आमसभा गरेर समापन हुँदै छ ।

ललितपुर कांग्रेसले बागमती गाउँपालिकास्तरीय जागरण अभियान कार्यक्रम सञ्चालन गरेको छ ।

जागरण अभियानअन्तर्गत बागमती गाउँपालिकामा नेकपा र राप्रपा पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको लहर बढेको छ । बागमती गाउँपालिकाको भट्टेडाँडा प्युटारमा भएको जागरण अभियानमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी २ दर्जनभन्दा बढी कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूमा पूर्वएमाओवादीबाट वडा सदस्यका उम्मेदवार समेत रहेका केवलप्रसाद तिमल्सिना, दीपक घिमिरे, नवराज घिमिरे, रुपक नेपाली, टीकाबहादुर खड्का, अजय गोले, कमल नेपाली, जमुना खड्का, चन्द्रबहादुर लो, रञ्जना खड्का लगायतका रहेका छन् ।

शिवप्रसाद दाहाल राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका छन् । उनीसँगै नेकपाबाट शोभित सापकोटा, दीपक स्याङ्तान, राजु मोक्तान, रोशन मोक्तान, रुद्रप्रसाद तिमल्सिना, नवराज अधिकारी, जयबहादुर सिंगार, दीपेन्द्र सिंगार, कमलबहादुर भुलुन, रोशन लामिछाने, राजकुमार भुलुन, सुवास जिम्बा, रमेश मोक्तान, दीपेन्द्र मोक्तान, तुलप्रसाद बजगाइँलगायतका स्थानीय नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् जागरण अभियानका केन्द्रीय प्रतिनिधि सुरेन्द्रराज पाण्डे, नेपाली कांग्रेस ललितपुरका जिल्ला सभापति मदनबहादुर अमात्य, पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणा, प्रदेशसभा सदस्यका उम्मेदवार एवम् युवा नेता मीनकृष्ण महर्जन ऋषिराम घिमिरे लगायतका नेताहरूले फूलमाला र टीका लगाएर कांग्रेसमा भित्र्याएका थिए ।

Published : Monday, 2019 June 3, 9:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया