बैद्यखानाबाट भागेका विप्लवका चार कार्यकर्ताहरू कोटेश्वरबाट पक्राउ

काठमाडौं । काठमाडौंको बैद्यखानामा भएको बम बिष्फोटनपछि फरार रहेका विप्लव नेतृत्वको नेकपाका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार साँझ उनीहरूलाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको हो । बैद्यखानामा सिलिण्डर बम लिन गएका र त्यहाँ बम बिस्फोट भएपछि भागेर कोठामा पुगेका चार जनालाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको उच्च स्रोतले जनाएको छ ।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, बुद्धि सुनुवार, तेजराज काफ्ले र तेजबहादुर मोक्तान रहेका छन् । पक्राउ पर्नेहरूको कोठाबाट बिस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ ।

उनीहरूलाई सशस्त्र प्रहरीको विशेष टोलीले पक्राउ गरेर कोटेश्वर वृत्तको जिम्मा लगाएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

राजधानीका विभिन्न स्थानमा तीन ज्यानको ज्यान जाने गरी भएका बम बिष्फोटमा विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको पर्चा र विभिन्न प्रमाणहरूले पुष्टि भएको प्रहरीको दाबी छ ।

विप्लवको नेकपाले राजधानीमा आतंक मच्चाएपछि उच्च सुरक्षा सर्तकता अपनाइएको छ । बम बिष्फोट र बिभिन्न अपराधका घटनामा संलग्नहरूलाई सुरक्षाकर्मीले खोजतलास गरिरहेको उच्च स्रोतले जनाएको छ ।

सुरक्षाकर्मीहरूले सम्भावितस्थानहरूमा छापामारेर अपराधमा संलग्नहरूलाई धमाधम पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीले सर्वसाधारणलाई शान्ति सुरक्षा दिइ अपराधमा संलग्नहरूलाई कारबाही गर्ने जनाएको छ ।

Published : Sunday, 2019 May 26, 9:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया