कम्युनिस्टहरूलाई दुई तिहाइको सरकार ‘बाँदरको हातमा नरिवल’ : रामचन्द्र पौडेल

प्रकाशचन्द्र भट्ट

दार्चुला । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।

शनिबार दार्चुलाको खुलामञ्चमा तेस्रो जिल्ला अधिवेशन तथा जागरण अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले अहिलेको कम्युनिस्ट सरकारले गणतन्त्रलाई संस्थागत गर्नेभन्दा पनि मास्ने कार्यमा लागेको बताए । उनले खड्गप्रसाद ओली नेतृत्वको नेकपाको सरकारलाई ‘बाँदरको हातमा नरिवल’ भएको टिप्पणी गरे ।

‘दुई तिहाइको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेन’, उनले भने, ‘सरकार आफै घोर भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।’

‘लोकतन्त्रिक मूल्यमान्यतालाई तिताञ्जली दिँदै पक्षपाति र मनोमानी ढंगको शासन चलाइरहेको छ’, उनले भने ।

दुई तिहाइको वर्तमान सरकारले बहुमतलाई दुरुपयोग गरेको नेता पौडेलले आरोप लगाए । उनले जनताले वर्तमान सरकारको विकल्प खोज्न थालिसकेको बताएका छन् ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री खड्गप्रसाद ओलीले एकपछि अर्को गर्दै लोकतन्त्र उल्टाउने खालको कदम चालेको आरोप लगाए ।

‘कम्युनिष्टहरूले विकासमा सिन्को भाँच्ने काम गरेका छैनन्’, उनले भने, ‘कांग्रेसको पालामा थालनी भएर हाल निर्माण सम्पन्न भएका योजनाहरूको रिबन काट्दै हिँड्ने काम ओली र उनका सरकारका मन्त्रीहरूले गरेका छन् ।’

कम्युनिस्टहरू यो मुलुकमा सर्वसत्तावाद लाद्न प्रयत्नशील रहेको वरिष्ठ नेता पौडेलको भनाई थियो । भ्रष्टाचारलाई ढाकछोप, लोकतन्त्रमाथि आक्रमण, सर्वोच्च अदालतमाथि धावा, अख्तियारमाथिको कब्जा लगायतका विषय त्यसको उदाहरण भएको वरिष्ठ नेता पौडेलले उल्लेख गरे ।

ओली सरकारले संवैधानिक निकायलाई आफ्नो भर्ती केन्द्रका रुपमा स्थापित गरेको उनको टिप्पणी रेका छन् ।

‘दुई तिहाईको वर्तमान कम्युनिस्ट सरकार जनताको हित र विकास निर्माणमा लाग्नुपर्ने भएपनि बाँदर प्रवृति अपनाउँदै जनताका विरुद्धमा लागि परेका छन्’, पौडेलले भने ।

उनले कम्युनिस्ट सरकारलाई खबरदारी गर्नका लागि नेपाली कांग्रेसले राष्ट्रिय रुपमा जागरण अभियान संचालन गरेको बताए । उनले कांग्रेसका नेता कार्यकर्तालाई कर्मशील कांग्रेस बन्न निर्देशन समेत दिए ।

हालै मात्र भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टीसँग कांग्रेसले सुनाउँदै नेता पौडेलले त्यसबाट कांग्रेसले पनि शिक्षा लिनुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले स्थानीय तहमा नेतृत्व गर्ने कांग्रेसका नेता कार्यकर्ताहरूलाई पनि गल्ती नगर्न आग्रह गरे ।

राष्ट्रिय जागरण अभियानका केन्द्रीय प्रतिनिधी एवम् पूर्वसांसद राजु खनालले कम्युनिस्टहरूका गलत कुराहरूको भण्डाफोर गर्ने बेला आएको बताए ।

‘कम्युनिस्टहरूले लोकतान्त्रिक मूल्य र मान्यताहरूलाई योजनाबद्ध रुपमा ध्वस्त बनाएर सत्ता कब्जाको रणनीति बनाएका छन्’, खनालले भने, ‘कम्युनिस्टहरूको यो हर्कतलाई कांग्रेसले राम्रोसँग बुझेको छ । त्यो उदेश्य पूरा हुन दिन्न । जनताले दिएको म्याण्डेटलाई कम्युनिस्टहरूले इमान्दारिताका साथ पूरा गरुन् । होइन भने कांग्रेसले सडकबाट कम्युनिस्ट सरकारलाई अपदस्त गर्न नपरोस् ।’

कार्यक्रमलाई केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वमन्त्री तारणीदत्त चटौत, नेपाली कांग्रेस दार्चुलाका सभापति ललितसिंह बोहरा, सुुदूरपश्चिम प्रदेशसभा सदस्य भरत खड्का, महिला संघकी केन्द्रीय प्रतिनिधी कान्ता चन्द, कैलाली कांग्रेस नेता नारायण मिश्र, कञ्चनपुरका प्रेम विष्ट, महाधिवेसन प्रतिनिधी उमेश खत्री, शैल्यशिखर नगरपालिकाका प्रमुख अमर धामी, दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्की, नेविसंघ दार्चुलाका अध्यक्ष रमेश भट्टलगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

Published : Saturday, 2019 May 25, 10:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया