कांग्रेसको आलोचनाबाट डराएका ओलीको अर्को विवादास्पद बयान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गर्नेहरू गणतन्त्रका संस्थाहरूको विरोधी भएको आरोप लगाएका छन् ।
२३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राष्ट्रपतिको आलोचना गर्ने नेपाली कांग्रेस र वुद्धिजीवीहरू गणतन्त्र विरोधी भएको बताए ।
‘राष्ट्रपतिले मेरो सरकार भन्दा किन विरोध ? मेरो सरकार नभनेर के अर्काको सरकार भन्ने ?’, उनले भने, ‘भारतमा पनि मेरो सरकार भन्ने गरिन्छ । यहाँ स्याल हुइँया मच्चाइयो । बुद्धिजीवीहरूले पनि कुरै बुझेनन् । नचाहिँदो कुरामा ध्यान केन्द्रित गर्ने । नचाहिने असान्दर्भिक कुरा उठाएर विरोध गर्ने काम मात्रै भयो ।’
प्रधानमन्त्री ओलीले राष्ट्रले मेरो सरकार भनेको कुरालाई सहज रुपमा लिनुपर्ने बताए । ‘राजाले पनि मेरो सरकार भन्थे । राष्ट्र प्रमुखले पनि भन्छन्’, उनले भने, ‘कांग्रेसले यति पनि कुरा बुझेन । आफूलाई जेठो पार्टी भन्छ । राष्ट्रपतिको होइन गणतन्त्रको विरोध गरेको हो ।’
प्रधानमन्त्री ओलीले देशमा अराजकता र अनुशासनहीन हुन नदिने चेतावनी दिएका छन् । ‘हाम्रो विरोध गर्ने नाममा समाजलाई अनुशासनहीन बनाइँदै छ । यो कार्य गर्न दिइने छैन । प्रतिक्रियावादी शक्तिहरूलाई सफल हुन दिने छैनौँ’, ओलीले भने, ‘सामाजिक सञ्जालमा अराजकता हुने गरेको छ ।’
ओलीले अर्को पटक दुई तिहाइको बहुमत ल्याएर एकलौटी सरकार बनाएर देखाउने बताए । ‘अलिकतिले दुई तिहाइको बहुमत आएको छैन । अर्को पटक दुई तिहाइ आउँछ’, उनले भने, ‘यो पार्टी (नेकपा)का नेताहरू धनकमाउन हिँडेका छैनन् । म पनि भ्रष्टाचार गर्दिन । भ्रष्टाचार गर्न पनि दिन्न ।’
ओलीले मदन भण्डारीको सिद्धान्तलाई छाड्न नसकिने बताए । उनले भने, ‘मदन भण्डारीले देखाएको बाटो र राजनीतिक सिद्धान्तलाई छाड्न सकिँदैन । योभन्दा अर्को राम्रो बिकल्प छैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत