कांग्रेसले जितेको महानगरमा संस्कृतिविद् जाशीको १००औँ जन्मोत्सव वर्षभरि मनाइने

ललितपुर । ललितपुर महानगरपालिकाले वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १००औँ वर्षमा प्रवेश गर्न लागेको अवसरमा विभिन्न कार्यक्रमहरू राखेको छ ।

जोशीको योगदान र सम्मानका लागि ललितपुर महानगरपालिकाले विशेष रुपमा मनाउन लागेको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सोमबार पत्रकार सम्मेलन गरेर जोशीको जन्मशताब्दी महोत्सव एक वर्षभरि विभिन्न कार्यक्रम गरी मनाउन लागेको जानकारी दिए ।

जोशी वैशाख ३० गते ९९ वर्ष पूरा भई १००औँ वर्षमा प्रवेश गर्दै छन् । यही अवसर पारेर ललितपुर महानगरपालिकाले एक वर्षभरि विभिन्न कार्यक्रमहरू आयोजना गरी जोशीको जन्मशताब्दी महोत्सव मनाउन गइरहेको छ ।

ललितपुर महानगरपालिकाको दोस्रो नगरसभाको निर्णय अनुसार २०७६ साल वैशाख ३० गतेबाट कार्यक्रम शुरू गरी एक वर्षसम्म अर्थात विक्रम संवत २०७७ साल वैशाख ३० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी जोशीको जन्मशताब्दी महोत्सव मनाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘सत्यमोहन जोशी राष्ट्रको महत्वपूर्ण नीधि हुनुहुन्छ । उहाँको अतुलनीय योगदानले राष्ट्रको कला, संस्कृति र साहित्य क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पु¥याएको छ’, मेयर महर्जनले भनेका छन्, ‘नेपालको कला, संस्कृति र साहित्यमार्फत नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन उहाँले पु¥याउनु भएकोे योगदान अतुलनीय छ ।’

‘जीवन छँदा नै सम्मान गर्ने परम्पराको सुरुवात गर्न महानगरपालिकाले यो जन्मशताब्दी महोत्सव मनाउने योजना बनाएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘त्याग, तपस्या, योगदानलाई मृत्युपछि मात्रै सम्मान गर्ने परम्परा छ जुन नेपालमा छ, त्यसलाई तोड्नुपर्छ भन्ने मान्यता ललितपुर महानगरपालिकाको छ ।’

सत्यमोहन जोशीज्यूको जन्मशताब्दी महोत्सव मनाउन ललितपुर महानगरपालिकाका मेयर महर्जनको संयोजकत्वमा एक सय ११ सदस्यीय समिति गठन गरिएको छ ।

ललितपुर महानगरपालिकाको मेयरमा महर्जनले नेपाली कांग्रेसबाट जितेका हुन् ।

Published : Monday, 2019 April 29, 6:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया