निरंकुश शासकहरूसँग मिल्ने ओलीको शैली

विराज आचार्य

नेपाल विभिन्न भाषा–भाषी, भेष–भुषा, धर्म संस्कृतिको मौलिकताले भरिएको देश हो । यसको इतिहाँसमा विभिन्न समय कयौँ पटक तानाशहरूले राज्य सञ्चालन गरे । शासकहरू सधैँ शासक नै बन्न खोजे । जनताको पक्षमा काम गर्न सकेनन् । जनतालाई शोषण गरिरहे । सात दशकको समयमा नेपाललाई सात वटा संविधान परिवर्तन गरी विश्व रेकर्ड कायम गर्न खोजे ।

यस्तो सुन्दर देशमा अहिले कम्युनिस्टहरूको दुई तिहाइ सरकार छ । भनिन्छ कम्युनिस्ट र प्रजातन्त्र एकै ठाउँमा रहन सक्दैनन् । त्यसैले उनीहरू प्रजातन्त्रलाई न्याय दिने कुरै आएन । चीनका राष्ट्रपति सी जिङ पिङले भने झैं कम्युनिस्टहरू कहिल्यै सम्पत्तिका मालिक हुन सक्दैनन् । उनको भनाइलाई सापटी लिने हो भने नेपालका कम्युनिस्टहरू ‘कमाउनिस्ट’ नै हुन् । वर्गीय विभेदलाई अन्त्य गर्नेभन्दा पनि नेपालका कम्युनिस्टहरूले झन् अन्तर बढाउन चाहन्छन् ।

तत्कालीन एमालेका महासचिव मदन भण्डारीले ‘जबज’को सिद्धान्त प्रतिपादन गरेर बहुदलीय संसदीय अभ्यासको मध्यमार्गी बाटो अपनाए । दुई फरक कित्तामा अडिएका ‘जबज’ र ‘जनयुद्ध’को फ्युजन गरेर तत्कालीन एमाले र माओवादी केन्द्रले दुबै सिद्धान्त छाडेका छन् । अहिले उनीहरू सिद्धान्त बिहीन बनेका छन् ।

घ्यू बेचुवा र तरवार बेचुवाको कथा जस्तै खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम कार्यकर्ताको भावना विपरित सत्तालिप्साका कारण पार्टीको भविष्य नै अनिश्चित बनाएका छन् । दुई तिहाइको ओली सरकार जसरी भएपनि जनतालाई झुक्काएर विपक्षी दल कांग्रेसको आरोप झैँ सत्ताकब्जामा लागेको देखिन्छ । विपक्षी दलहरूलाई सहमतिमा ल्याउनेभन्दा पनि चिढ्याएर सरकारको नजिक पर्न नदिने खेलमा ओली छन् ।

इतिहाँस पल्टाउँदै जाने हो भने विश्वका तानाशाह शासकहरू एकै पटक तानाशाह भएका छैनन् । उनीहरूले आफ्नो लोकप्रियतालाई क्रमशः निरंकुशतामा ढालेका छन् । जनताका लोकप्रिय राष्ट्रवादी राजनेताहरू पनि निरंकुश शासक बनेका प्रसस्तै उदाहारण छन् । बंगलादेशी लोकप्रिय नेता बंगबन्धु सेखमुजिबुर रहमान जसलाई फाउण्डिङ फादर पनि भनिन्छ । उनी निरंकुश बन्दा जनताले दुःख पाए ।

रोहिग्या शरणार्थी प्रकरणमा म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकी पनि विवादमा परिन् । नोबल शान्ति पुरस्कार विजेता सुकीको पुरस्कार नै खोसिने अवस्थामा पुग्यो । एउटा प्रसिद्ध बेलायती भनाइ छ, ‘पावर क्रप्स : एक्स्युलुट पावर क्रप्स एब्स्युलुटली’ भने झैँ जब लोकप्रिय नेता शासन सत्तामा पुग्दछन् उनीहरू आफ्नो धरातल बिर्सिएर तानाशाही सपना देख्न थाल्छन् । यसको गतिलो उदाहरण हो, एडोल्फ हिटल ।

हिटल, विश्वका खुँखार तानाशाही जो एक समय जर्मनीका प्रसिद्ध राजनेता थिए । अष्ट्रियाको एउटा गरिव परिवारमा जन्मिएका हिटल पढाइमा अल्छी, कमजोर र सुस्त भएकै कारण उच्च शिक्षा लिन सकेनन् । प्रथम विश्व युद्धमा पल्टनमा हुँदै राष्ट्रिय समाजवादी जर्मन कामगार पार्टी जसलाई पछि गएर नाजी पार्टी पनि भनियो । त्यसको अध्यक्ष भई सन् १९३३ देखि सन् १९४५ सम्म जर्मनको तानाशाही शासक बने ।

पहिलो विश्वयुद्धमा जर्मनको हारले आत्मसम्मान गुमाउन पुगेका जमनी नागरिकलाई युद्धको क्षतिपूर्ति भराउनुपर्ने शाक्तिशाली पश्चिमा मुलुकहरूको निर्णयले नुनचुक भर्ने काम गर्‍यो । यही बेला यहुदी शासकविरुद्ध खनिएर समृद्ध जर्मनीको सपना बाँडेर हिटल जर्मनीका नागरिकमा राष्ट्रियताको ढोल पिट्न थाले । बोलीमा जादुको प्रभाव भएका प्रखर वक्ताको रुपमा प्रस्तुत भइ छोटो समयमा नै संसदमा दुई सय तीस नाजी सांसद पुर्‍याउनु सफल भए ।

पहिलो राष्ट्रपति चुनावमा असफल भएपनि सन् १९३३ मा जर्मन चान्सलर बन्न पुगेका हिटलर संसद भवनमा आगो लगाउन लगाइ त्यसको आरोप विपक्षी पार्टीलाई थुपार्दै संसद भंग गर्नेदेखि बिपक्षी दललाई नै गैरकानूनी घोषणासम्म गर्न पुगे । हिटलरले शक्ति केन्द्रिकृत गर्दै पहिला सर्वोच्च न्यायाधीश त्यसपछि राष्ट्रपति हुँदै सम्पूर्ण शक्ति आफ्नो हातमा लिए । विपक्षी दलका कार्यकर्ताका गिरफ्तारी विरोधहरूको कडा निगरानी प्रेस स्वतन्त्रतामा रोक लगाउनेदेखि जताततै अखबारमा आफ्नो स्तुति गाउन लगाउँदै छ महिनाभित्रै प्रजातन्त्रको अपहरण गर्न पुगे ।

जनताबाट चुनिएर आएका लोकप्रिय राजनेता हिटलर जसलाई पछि गएर टाइम्स पत्रिकाले वर्षव्यक्तिको रुपमा सम्मानित गरेको थियो । त्यो मात्रै नभएर सन् १९३९ मा शान्तिका लागि नोबल पुरस्कार नामाकरण गरिएका व्यक्ति यति क्रुर शासक बनेकी आफ्ना विरोधीसहित ६० लाखभन्दा धेरै यहुदीहरू नरसंहार गर्न पुगे ।

हुन त समयले धेरै कोल्टे फेरि सकेको छ । बागमतीमा धेरै पानी बगी सकेको छ । हिटलरको बारेमा यहाँ बर्णन गर्नु भनेको एउटा निर्वाचित नेता कसरी हिंस्रक र क्रुर शासक बन्न सक्छ भन्ने कुरा नै हो ।

नेपालमा पनि जनताबाटै निर्वाचित दुई तिहाइको कम्युनिस्ट सरकारको आडमा बनेका प्रधानमन्त्री बनेका खड्गप्रसाद ओलीको बाल्यकाल त्यति सुखद छैन । ८ कक्षको पढाइ छाडेर राजनीतिमा होमिएका ओली झापा नरसंहारका कारण १४ वर्ष जेलमा परेका थिए । पञ्चायती शासनकालमा कम्युनिस्ट पार्टीको सदस्यता लिइ राजनीति गरेका उनी लामो समय भारतपरस्त नेताको रुपमा चिनिए । पार्टीमा गुटको खेती गरी त्यसको संरक्षकत्व लिने ओली महाकाली सन्धीमा नराम्रोसँग चिप्लिएका थिए ।

जसरी हिटलरको जीवनमा प्रथम विश्वयुद्धले परिवर्तन ल्याइदियो ठीक त्यसै गरी नै भारतको अघोषित नाकाबन्दीले ओलीको बनावटी राष्ट्रवादलाई हाबी बनाइदियो । बोलीमा उखान टुक्का जोडिएका उखाने नेताको रुपमा परिचित ओली समृद्ध नेपाल सुखी नेपालीको दिवा स्वप्न बाँडेर आवधिक चुनावपछाडि दुई तिहाइ सरकारको नेतृत्व संविधानको सफल कार्यान्वयन गर्ने जिम्मेवारी लिन पुगे ।

हाम्रो देश संघीय लोकतान्त्रि गणतान्त्रिक नेपाल हो । संघीयता भन्नेवित्तिकै हामी जनताको घरघरमा अधिकार भन्ने बुझ्द छौँ । सामान्यतया केन्द्रिकृति शक्तिलाई संवैधानिक रुपमै तल्लो तहसम्म बाँडफाँड गरेर जनताकै घरआँगनमा सिंहदरबार, प्रजातन्त्रको भरपुर उपयोग, स्वतन्त्रताको रक्षा, मौलिक हक अधिकारको सुनिश्चितता भन्ने नै बुझ्द छौँ ।

यही संघीयताको रक्षाका लागि बनेको दुई तिहाइको ओली सरकार संघीयताको मर्म विपरित शक्ति केन्द्रित गर्न लक्षित छ । प्रमुख जिल्ला अधिकारी जसलाई हाम्रो संविधानले पटक्कै चिन्दैन । उसलाई प्रदेशसँग समानान्तर शक्तिको रुपमा खडा गर्न खोज्नु, गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागसहितका शक्तिशाली विभागहरूलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउनु ओलीभित्र पलाएको निरंकशुता नै हो ।

नेपाली सेनालाई आफैले एक्लै चलाउने गरेर ल्याइएको विवादास्पद सुरक्षा परिषदसम्बन्धि विधेयक संशोधन गर्न खोज्नु, वाइड बडी विमान प्रकरणमा अख्तियारलाई छानविन गर्न दिनुको साटो संसदको सर्वोच्चतालाई चुनौती दिँदै समानान्तर सरकारी समिति गठन गरी आफैले फल्नो व्यक्ति निर्दोष छ भनेर अनुसन्धान तुहाउन खोज्नु प्रजातान्त्रिक मुलुकमा शक्ति पृथकीकरणको ठूलो प्रहार हो ।

ओलीले संघीय संसदलाई समेत आफ्नो नियन्त्रणमा राखेका छन् । यसको उदाहरण सभामुखलाई दवाव दिएर विवादित व्यक्ति रेशमलाल चौधरीलाई शपथ खुवाउनु रहेको छ । ओलीले आफूलाई संसदीय पद्धतिभन्दा पनि माथि राख्न खोजेका छन् ।

लेखक

सामाजिक सुरक्षा योजनाको नाममा अनावश्यक सरकारी ढुकुटी दुरुपयोग गरी शहरका पोलपोलमा आफ्नो पोस्टर टाँस्न लगाउने, सरकारी आर्थिक तथ्यांकको बेवास्ता गर्दै गलत तथ्यांक बोल्ने तर, आफ्नो समर्थन नजनाउने बुद्धिजीवीमाथि आक्रोश पोख्ने कार्यलाई लोकतान्त्रिक पद्धतिमा स्वीकार गर्न सकिँदैन । ओलीले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्ने, सामाजिक सञ्चारमाध्यमहरूलाई दर्ताको नाममा नाटकीय रुपमा बन्द गराई बिरोधीहरूको मुख थुन्न लगाउने हिटलर शैली अपनाउन खोजेका छन् ।

धर्मनिरपेक्षता देशमा कुनै एक धर्मको प्रलोभनमा परी सरकार प्रमुख जस्तो व्यक्ति एकलाख डलरका लागि राष्ट्रिय संकटमा पारिदिए । २५ प्रतिशतभन्दा धेरै गरिव जनता जसले साँझ बिहान आफ्नो छाक टार्न सक्दैनन्, एउटा सिटामोलका लागि दिनभरि हिँड्नुपर्छ । त्यस्ता गरिव जनताको प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा भने करोडौँ खर्चिएर भ्युटावर निर्माण गरिनुले अनेकौँ आशंकका उब्जाएको छ ।

देश विखण्डन गर्न खोज्ने सिके राउतलाई रेडकार्पेट बिच्छ्याएर तराईका क्षेत्रीय पार्टीहरूविरुद्ध परिचालन गर्न लगाउने । तर, देश भ्रष्टाचारले चुर्लुम्म डुब्यो भनेर विरोध गर्ने विप्लव समूहलाई भिडन्त गर्न निम्ताउने ओली सरकारको कार्यशैली उचित छैन । राजनीतिक विषयलाई राजनीतिक रुपमा सधान गर्नुपर्छ । विप्लवहरूले पनि हिंसाको राजनीति त्याग्नुपर्छ । लोकतन्त्रमा हिंसाको कुनै स्थान हुँदैन ।

विपक्षी दलको मौनताको कमजोरीको फाइदा उठाउँदै बोलीमा बाहेक सुशासन कायम गर्न नसक्नु बलत्कार, हत्या हिंसा गुणगर्दीलाई प्रसय दिँदै सरकार तथा पार्टीमा राम्रोभन्दा हाम्रो मान्छे हाबी हुनुदेखि विरोधीलाई निमिट्यान्न पार्ने शैली अपनाउनुले ओलीले हिटलको बाटो पछ्याइरहेको प्रस्ट देखिन्छ ।

एउटा साधारण गायकले गाएको गीतविरुद्ध उर्लने ओलीलाई धेरैले मन पराएका छैनन् । आफ्नै पार्टीका महासचिवले बालुवाटारको सरकारी जग्गा आफ्नै नाममा पास गर्दा किन बोली फुट्दैन ? सामान्य मानिसले नबुझ्ने गरी राष्ट्रवादको ढुङ्ग्रो ठोकी संघीयतालाई नै अपाङ बनाइ शक्ति कब्जा गर्ने रणनीति अब जनताले पचाउने छैनन् ।

आजको दिनमा जनतामा चेतनाको स्तर धेरै बढेको छ । क्रुरभन्दा क्रुर शक्तिशाली तानाशाहहरू पनि जनताको अगाडि घुँडा टेकेको प्रसस्त उदाहरण छ । तानाशाही शासकहरू अन्त्य पनि क्रुर तरिकाले भएको छ । चाहे त्यो गद्धाफी होस् या सद्दाम हुसेन, लुईस सोह्रौं होस वा हिटलर त्यसैले बेलैमा हेक्का राखी एउटा उदाहरणीय राजनेता बन्न सक्दा राम्रो । यही छ प्रधानमन्त्री ओलीज्युलाई नयाँ वर्षको शुभकामना ।

Published : Friday, 2019 April 19, 10:22 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया