दार्चुलामा दमकलबाट पिउने पानी वितरण
प्रकाशचन्द्र भट्ट
दार्चुला । दार्चुला जिल्लाको सदरमुकाममा खानेपानीको हाहाकार भएको छ ।
गर्मी मौसम शुरु भएसँगै मुहानमा पानीको अभाव हुन थालेको हो । सदरमुकाममा खानेपानीको हाहाकार मच्चिएपछि महाकाली नगरपालिकाले निःशुल्क खानेपानी वितरण गर्न थालेकोे छ ।
नगरपालिकाले सदरमुकाममा खानेपानीको अभाव भएपछि स्थानीयलालाई शुक्रबारदेखि नगरपालिकाले दमकलबाट पानी वितरण गर्न शुरु गरेको हो ।
सदरमुकामबाट केही किलोमिटर टाढा रहेको धौलीगाड खोलाबाट पानी दमकलबाट ल्याई सदरमुकाम क्षेत्रका स्थानीयलाई वितराण गरिएको छ ।
खोलाबाट ल्याइएको पानी नगरबासीहरूले लुगा कपडा धुन तथा सरसफाइमा प्रयोग गरिरहेका छन् ।
दमकलबाट ल्याइएको पानी पिउनका लागि योग्य रहेको नगरपालिकाले जनाएको छ । उपभोक्ताले चाहेजति पानी भर्ने व्यवस्था गरिएको छ ।
खानेपानीको चरम अभाव भइरहेका बेला सदरमुकामवासीलाई केही सहज होस् भन्ने उद्देश्यले नगरपालिकाको आफ्नै दमकलबाट निःशुल्क रुपमा नगरवासीलाई पानी वितरण
गरिरहेको नगरपालिकाका प्रवत्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष पुस्करराज जोशीले बताए ।
मुहानबाट पानी कम आइरहेकाले खानेपानीको समस्या सिर्जना भएको खलंगा खानेपानी उपभोक्ता समितिकाका अध्यक्ष जयदेव जोशीले बताए ।
केही ठाउँमा पाइपहरू चुडिएकाले धारासम्म पानी आउन समस्या भएको जोशीको भनाइ छ ।
जनसंख्याको चाप बढ्दै जाँदा सदरमुकामका स्थानीयहरू बेलाबेला खानेपानीको समस्या झेल्दै आइरहेका छन् ।
सदरमुकामबासी अहिले जिल्ला नजिकको खानेपानीको मूलमा धाउन बाध्य छन् ।
मूल तथा खोलाको फोहर पानीका लागि समेत लागि घण्टौ लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
पानीका लागि सदरमुकामबाट टाढा रहेका खोला तथा न्वौलामा गएर पानी ल्याइ प्रयोग गरिरहेको सदरमुकाममा डेरा गरी बस्दै आएकी यशोधा धामीले बताइन् ।
बिहान क्याम्पस जान हतार हुने भएकाले छिमेकीको घरबाट पानी सापट लिएर खाना पकाउनुपर्ने बाध्यता रहेको सदरमुकाममा कोठा भाडा लिएर बस्ने विद्यार्थी महेश कार्कीले बताए ।
‘बिहान ६ बजेतिर क्याम्पस जानुपर्छ । कोठामा पानी हुँदैन्’, उनले भने, ‘कुनै दिन घरबेटीसँग मागेर खाना पकाएर खाएर जान्छु । कसैले त्यस्तै जान्छु । धारामा पानी नआउँदा म जस्ता विद्यार्थीलाई धेरै नै समस्या भएको छ ।’
दार्चुलाका स्थानीय होटल व्यवसायीलाई समेत पानीको अभाव भइरहेको छ । होटलमा पानी नहुँदा बास बस्न आएका ग्राहक पनि फर्किने गरेको होटल व्यवसायीहरूको भनाइ छ ।
अव्यवस्थित शहरीकरणको संरचनना विस्तार भइरहेको यो समयमा खानेपानीको दीर्घकालीन उपाय नसोच्ने हो भने भविष्यमा खडेरीको सम्भावना प्रबल रहनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत