धनुषाको आमसभामा ओइरिए कांग्रेस कार्यकर्ता, कम्युनिस्टसँग भिड्न निर्देशन (तस्वीर)
जनकपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल देश दौडाहको तालिका बनाएर विभिन्न जिल्लाका पार्टीका कार्यक्रममा सक्रिय भएका छन् ।
पार्टीका भातृसंस्थाका स–साना कार्यक्रममा सहभागी भैरहेका छन् । पौडेलले नेता तथा कार्यकर्ताहरूलाई कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध संघर्ष गर्ने बेला आएको भन्दै आन्दोलनको लागि तयारी अवस्था बस्न निर्देशन दिएका छन् ।
धनुषा जिल्लाको बालाबाखरमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडलले कम्युनिष्टहरूको सरकारले जनतालाई सरकारको अनुभूति दिन नसकेको बताएका छन् । उनले मधेश, पहाड, हिमालको सुन्दर समायोजन रहेको भन्दै त्यसमा कता–कता संवादको कमी भएको भएको बताए । उनले भने, ‘हुकुमी शासनको पालामा मधेश पहाड हिमाललाई बेग्ला बेग्लै हेर्ने दृष्टिकोण भएको थियो ।’
‘त्यतिखेर हुकुमी शासन निरंकुशताको ह्याङओभार अझै गएको छैन्’, उनले भने, ‘यसबाट मुक्त गर्नु मेरो लक्ष्य हो ।’
कम्युनिस्ट सरकारले जनताको आवश्यकता बुझ्न नसकेको भन्दै नेता पौडेलले देशमा सरकारले समृद्धि दिन नसकेको बताए ।
मुलुकमा कृषि क्रान्ति गरेर उर्जा शक्तिको विकास र पर्यटको विस्तार गरेर मुलुकलाई समृद्धितर्फ लैजान जरुरी रहेको उनको भनाइ छ ।
पौडेलले भने, ‘जब मधेशका जनताले पहाडको योजनाको शेयर पाउँछ अनि मधेशको अन्नले पहाड बाँँच्नेछ अनि मात्र नेपाल समृद्ध हुन्छ । नेपाल सुन्दर हिमाल र पहाडले मात्र बनाएको होइनन् ।’
‘तराईले नेपाललाई सुन्दर बनाएको छ । स्वीजरल्याण्ड भन्दा पनि नेपालमा प्राकृतिले बनाएको सुन्दरता छ’, उनले भने, ‘हामीसँग जे छ त्यो संसारमा कसैसँग छैन् ।’
उनले आफूहरूसँग झलझल बल्ने हिमाल भएको उल्लेख गर्दै उर्लेर बग्ने नदीबाट आएको पहाडको पानीले तराईका जनताले आम्दानी पाउनुर्ने बताए । उनले भने, ‘तराईका जनतालाई पानी अभाव छ । प्रधानमन्त्री खड्गप्रसाद ओली कताबाट पानी जहाज ल्याउने कुरा गर्दछन् ? पहाड मधेश र हिमाल जनतालाई एकैपटक समृद्ध बनाउने हामीले हो ।’
मधेशलाई जोगाउनका लागि चुरे संरक्षण गर्नु अहिलेको चुनौती रहेको नेता पौडेलले बताए । उनले चुरेको संरक्षण गरेर मधेशको भूमि र मधेशी जनताको सुरक्षा गर्न कांग्रेससँग मात्रै योजना रहेको बताए ।
कम्युनिष्ट सरकार सबै अधिकार आफ्नो हातमा लिएर जनतालाई दुःख दिएको उनले बताए । नेता पौडेलले प्रश्न गर्दै भने, ‘केपी ओलीसँगको मधेशको के हो ? मधेशी दलका नेताहरूले एकाएक किन सर्मथन गरे ? यी मधेशका नेताहरूको नियत के हो ? मधेशका जनतालाई के चाहिएको हो ? उनीहरूलाई चिन्ता छैन ।’
उनीहरूलाई केवल कुर्सीका लागि केपी ओलीसँग टाँसिनु मात्रै भएको पौडेलको आरोप थियो । उनले कांग्रेसकै सिद्धान्त अनुसार अहिलेको संविधान आएको बताए ।
कांग्रेसका नेता पौडेलले भने, ‘कम्युनिष्टको सिद्धान्तमा कहिँ पनि संघीयता भन्ने शब्द हुँदैन । विश्वका कम्युष्टिहरू यसको उदाहरण हुन् । कम्युनिष्टको सिद्धान्त भनेको जनतावादी केन्द्रीयता हो ।’
कम्युनिष्ट प्रधानमन्त्री ओली त्यही अनुसार आफूमा अधिकार केन्द्रित गर्न लागेको पौडेलले बताए । ‘अहिले हरेक संवैधानिक निकायलाई कमजोर पार्ने गरी कम्युनिष्टहरूले काम गरिरहेका छन्’, उनले भने, ‘कम्युनिष्टहरूको केन्द्रिकृत शासन पद्दतिमा जाने लक्षण हो । संघीयताको विरोधमा जाने कसैलाई पनि कांग्रेसले माफ गर्दैन् ।’
कम्युनिष्टहरूले संघीयता र लोकतन्त्रलाई सत्ताको भ¥याङ मात्रै बनाउने गरेको नेता पौडेलले बताए ।
‘राणासँग लडेको कांग्रेस पञ्चायतसंग लडेको कम्युनिष्टसँग पनि लड्ने हो’, उनले भने, ‘लोकतन्त्र र संघीयता गणतन्त्रका विरुद्धमा कसैलाई जाने दिँदैनौ ।’
कांग्रेसका वरिष्ठ नेता पौडेलले भने, ‘अधिनायकवाद कम्युनिष्ट नेताहरूको अनुहारमा देखिन्छ । तर, हामी खबरदारी गर्दै जनतासमक्ष आएका हौं । संघीयता विरोधी सरकारको हर्कतको विरोध गर्न हामी जनतासमक्ष आएका हौँ ।’
कम्युनिस्ट सरकारले अधिनायकवादमार्फत मुलुकलाई अन्धकारमा खोजेको भन्दै पौडेलले त्यसलाई कांग्रेसले रोकेरै छाड्ने बताए ।
उनले नेपाली कांग्रेसको उत्पती नै मधेशबाट भएको भन्दै कांग्रेस र मधेशको सम्बन्ध एकअर्कामा परिपुरक रहेको बताए ।
कम्युनिस्ट सरकारले बुढीगण्डकी, वाइड बडी जहाज खरिद, एनसेलको राजश्व छली, सुन काण्ड मच्चाएर गरिब जनतालाई मारिरहेको उनको भनाइ थियो ।
कांग्रेस नेता पौडेलले पार्टीभित्रको प्रसंग उठाउँदै नेतृत्व सुधारिए कांग्रेस पार्टी सुध्रिन समय नलाग्ने बताए । उनले कांग्रेसलाई सवल र बलियो बनाउने हो भने नेतृत्व सच्चिन र सुध्रिन जरुरी रहेको बताए ।
कार्यक्रममा वरिष्ठ नेता पौडेलले शहीद रामसेवक यादवको शालिकको अनावरण गरेका थिए । माओवादीद्वारा हत्या गरिएका यादव नेपाली कांग्रेसका सक्रिय नेता थिए ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, रामकृष्ण यादव, महेन्द्र यादव, रञ्जित कर्णलगायतका नेताहरूको सहभागिता रहेको थियो । आमसभामा हज्जारौँ कार्यकर्ताको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत