ओली–प्रचण्डको छटपटी र कम्युनिस्टको द्वैध शासनले ल्याएको विकृति

केशवप्रसाद भट्टराई

नेपाली कांग्रेसको महासमितिमा हिन्दू धर्ममा छलफल र चर्चा गरिरहँदा प्रचण्डलाई औडाहा भएछ । हिन्दू धर्ममा गए कांग्रेस सिद्धिने कुरा बताएका छन । उनलाई कांग्रेस सिद्दिने पीर थिएन । पीर थियो मुलुकको जेठो र राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित दल हिन्दू राष्ट्रको पक्षमा उभियो भने जस–जसका सामू नेपाललाई धर्म निरपेक्ष घोषणा गराउन ‘त्वं शरणं’ गरिएको छ ।

कांग्रेस नेपाल सँगै सँगै स्थापना भएको दल होइन, नेपालको अस्तित्व रहुन्जेल रहन्छ भन्ने पनि छैन । त्यही कुरा नेकपाको हकमा पनि हो । राजनीतिक दलहरू आउँछन्, जान्छन, टुक्रिन्छन्, विलय हुन्छन् । यो पनि प्रकृति हो ।

प्रचण्डले पनि कथित गौरवशाली जनयुद्ध गर्ने पार्टी हाँक्न र टिकाउन नसकेर टुक्रा टुक्रा भएका छन् । उनीहरूको आफ्नो व्याख्या र विश्लेषण होला, तर उनी एउटा ठूलो चोइटो लिएर एमालेमा विलय हुन गएका हुन । आफ्नो नेतृत्वको चोइटोको अलग भविष्य नदेखेर ।

आफ्नो पार्टीको उज्वल भविष्य देखेको भए पक्कै सिद्धान्तमा समान तर व्यवहारमा वरिष्ट उपाध्यक्ष भएर आफ्नो पार्टीको पहिचान मासेर जाने थिएनन् ।

आफ्नो राजनीतिक भविष्यबारे चिन्ता र अन्यौलग्रस्त प्रचण्ड कहिले कांग्रेसबारे बर्बराउँछन । कहिले कुनै निजी समारोहमा राजा नाचे भनेर सातो हराए जस्तो गरेर छटपटी पोख्न पुग्छन् । त्यही रनाहामा केपी ओली पनि देखिन्छन् । त्यस्तै चेतावनी दिन पुग्छन् ।

दुई तिहाईको शक्ति आफूसँग छ । कांग्रेस, राजा, हिन्दू राष्ट्रको सवाल सबैलाई असान्दर्भिक बनाइदिनु क्या । जनताको हाई हाई भएर । स्वच्छ, गतिशील र सक्षम सरकार दिनु क्या वर्षौंसम्म जनताको मत पाएर विजयी हुने गरी ।

सरकार उनीहरूको, कर्मचारी उनीहरूका र उनीहरूकै ट्रेड युनियनका, संवैधानिक अङ्गहरू, न्यायपालिका सबैतिर उनीहरूका कार्यकर्ता, सुरक्षा अंग उनीहरूकै राजनीतिक छहारीमा । अस्थिरताको नाउमा अस्थिरता भित्रै सबै राज्य अंगमा ओली र प्रचण्डको दलको प्रभाव र वर्चस्व कायम भइसकेको छ ।

पहिला अनेक गरेर राजनीतिक अस्थिरता निर्माण गर्ने अनि त्यो अस्थिरतालाई आफ्नो स्थिरताको आधार बनाउने कम्युनिस्ट रणनीतिमा उनीहरू सफल भएकै हुन् ।

विकृति त ओली र प्रचण्डको द्वैध शासन र त्यसको वैदेशिक आयामको कारण आएको छ । सबैतिर नियन्त्रण स्थापना गर्न खोज्ने तर नसक्ने अनि नियन्त्रण र सन्तुलन विनाको राजकाजबाट उत्पन्न भएको छ ।

ओली र ओलीपछि प्रचण्डको पालोको भद्र भनिने कुटिल सहमतिले उनीहरूको आफ्नै दलभित्र उकुसमुकुसको स्थिति उत्पन्न भएबाट निर्माण भएको छ । सुध्रिए त राम्रो तर लाग्दै छ, कांग्रेसले सुध्रिन नै पर्दैन । कुनै सांगठानिक तयारी पनि चाहिन्न ओली र प्रचण्डको द्वैध शासन यसरी नै गए अर्को चुनाव भए, गराउन सके, त्यो चुनावमा कांग्रेस अहिलेको ओली र प्रचण्डको दलको हैसियतमा ।

सरकार र सत्तारुढ दलको नेतृत्वमा रहेका ओली र प्रचण्डको छटपटी र हतासायुक्त क्रन्दन सुन्दा उनीहरूले अर्को सम्भावना पनि देखेका छन् कि भन्ने लाग्दछ । त्यो भनेको अर्को चुनाव अघि नै ७२ को संविधानविरुद्ध राष्ट्रव्यापी आन्दोलन र यसको र यसले निर्माण गरेका राज्ययन्त्रहरू र सरकारको पतन । नत्र संसदमा एक तिहाईमा खुम्चिएको गतिहीन र लक्षहीन कांग्रेस र साधारण नागरिक बनेका राजाविरुद्ध बर्बराउनु किन ?

अरू कसैलाई धारे हात लगाउन पर्दैन, ओली र प्रचण्डले आफ्नै दल र सरकारलाई इमान्दार नेतृत्व दिए पुग्दछ । आम जनताको जीवनमा विश्वास, सपना र उर्जा भरिदिए पुग्दछ ।

यिनीहरू हामीहरू र मुलुकप्रति इमान्दार छन । मुलुकको स्वाभिमान र स्वतन्त्रताको रक्षा गर्न सक्दछन्, निर्धक्क भएर गरिखाने वातावरण निर्माण गरिदिन सक्दछन्, न्याय र निसाफका कुरामा कुनै भेदभाव हुन्न, मुलुकभित्र हामी सुरक्षित छौं, हाम्रो उन्नति सम्भव छ भन्ने विश्वास आम जनतामा जगाइदिए पुग्दछ ।

यी कुराका लागि ओली र प्रचण्ड मुलुकप्रति इमान्दार भए पुग्दछ । इमान्दार देखिए पुग्दछ । तर गाह्रो भनेपनि सजिलो भने पनि त्यही हो । (भट्टराईको फेसबुक वालबाट साभार)

Published : Wednesday, 2018 December 26, 11:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया