नेविसंघको ३२ वर्षे उमेर हटाउन माग गर्दै विद्यार्थीको भेला

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेरहद लगाउने निर्णय गरेको विरोधमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी नेताहरूले विरोध गरेका छन् ।

काठमाडौंको बाल्मिकी क्याम्पसमा दशैँको शुभकामना आदान प्रदान गर्ने बहानामा जम्मा भएका पौडेल र सिटौला समूहले उमेरहद तोकेर पार्टीले नेविसंघको १२औं महाधिवेशन भाँड्ने चलखेल गरेको आरोप लगाए । उनीहरूले खबरदारी गर्न महाधिवेशन चाहने समूहको विरोधमा भेला भएको बताए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गुटका विद्यार्थी नेता मनोजमणि आचार्यको संयोजनमा प्रदर्शनी मार्गस्थित वाल्मिकी क्याम्पसमा भेला भएको थियो । कार्यक्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेविसंघ नेता तथा महामन्त्री कुन्दनराज काफ्लेले पनि ऐक्यवद्धता जनाएका छन् ।

पौडेल र सिटौलाले नेविसंघमा उमेरहद तोक्न नहुने अडान लिएका छन् । नेविसंघका नेता आचार्य र महामन्त्री काफ्ले पनि उमेरहद तोक्न नहुनेमा छन् ।

नेविसंघले कात्तिक १६ देखि महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । उमेरहदबारे मौन राखेर विधान पार्टीलाई बुझाए पनि सहमहामन्त्री डा.प्रकाशशरण महतले उमेरहदको प्रस्ताव राखेर महाधिवेशनकै वातावरण खल्वल्याउन खोजेको असन्तुष्ट समूहको आरोप छ ।

नेविसंघले दुई वर्षअघि ११औं महाधिवेशनकै बेला १२औं महाधिवेशनमा उमेरहद लगाउने निर्णय गरेको थियो । सो निर्णयलाई पार्टीले कार्यान्वयनमा ल्याएको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए ।

Published : Tuesday, 2018 October 9, 9:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया