कांग्रेस र नेविसंघको प्रशंसा गर्न बाध्य भए कम्युनिस्टहरू

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णयसँगै चौतर्फी प्रशंसा भएको छ ।

कांग्रेस र कांग्रेसका भातृ संस्थाभित्र मात्रै होइन कम्युनिस्टहरूले पनि कांग्रेसले नेविसंघका लागि गरेको उमेर हदको निर्णयको प्रशंसा गरेर थाकेका छैनन् । नेविसंघमा अहिले ४५ वर्ष उमेर नाघेका नैनसिंह महर अध्यक्ष छन् ।

नेविसंघको माउ पार्टी कांग्रेसले सोमबार मध्यराति ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको थियो । यो निर्णयको वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुन नरसिंह केसीले असहमति जनाउँदै नोटअफ डिसेन्ट लेखेका छन् । यी चार भाई नेताको कांग्रेसभित्र आलोचना भएको छ ।

नेविसंघमा ३२ वर्षे उमेर हदको निर्णयसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठनमा पनि उमेर हदको बहस पुनः शुरु भएको छ ।

यसअघि तत्कालीन एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा ३० वर्षे उमेर हद लगाउने बहस चले पनि कार्यान्वयन भएको थिएन ।

सर्वोच्च अदालतको आदेश बमोजिम स्वतन्त्र विद्यार्थी युनियनमा २८ वर्षभन्दा माथिका नेताहरूले चुनाव लड्न नपाउने व्यवस्था कार्यन्वयन भइसकेपछि विद्यार्थी संगठनहरूमा उमेरहदको बहस चलेको थियो ।

नेतृत्वका दाबेदार अधिकांश नेताहरू ३५ वर्षभन्दा माथिका हुने गरेकाले विद्यार्थीको नेतृत्वमा उमेर हद लगाउन कठिन भएको छ । यस्तो अवस्थामा नेविसंघमा कांग्रेसले गरेको निर्णयले तरंग उत्पन्न गरिदिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादका बीच नेविसंघमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेपछि नेकपा निकटका विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीभित्र पनि उमेरको बहसले पुनर्जीवन पाएको क्रान्तिकारीका उपाध्यक्ष दीपेश पुनले बताएका छन् । उनले सकेसम्म दुई संगठनको एकीकरणबाटै उमेरको हद लगाउन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

अनेरास्ववियुमा उमेर हद र शैक्षिक योग्यताको बहस ३ वर्षअघिनै भएको थियो । तत्कालीन एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले विद्यार्थी राजनीति लोकसेवा पास गर्नका लागि नभएकाले उमेर र शैक्षिक योग्यताको बन्देज लगाउन नपर्ने भनेका थिए । ओलीको त्यो अभिव्यक्तिपछि अखिलमा उमेर हद लागेन ।

उमेर र शैक्षिक योग्यताको बहस अहिले पनि जारी रहेको र पार्टी एकीकरणपछि दुई विद्यार्थी संगठन एकता हुँदै गर्दा उमेर हद लगाउन सकिने अनेरास्ववियुका एक नेताले बताएका छन् ।

युवाको परिभाषा ४० वर्ष भनिएको छ । युवा संगठनमा ४० वर्षभन्दा माथिकाले बस्न नपाउनेछ । तर विद्यार्थीमा ४० कटेका पनि नेतृत्वमा छन् । अखिलका नेताहरूले विद्यार्थी संगठनमा उमेरको हद तोकिनुपर्ने बताउँदै आएका छन् ।

Published : Monday, 2018 October 8, 4:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया