डा.ओली आएकै दिन कांग्रेस नेतृत्वको समितिको निर्णयले देशैभरि हलचल

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले कम्युनिस्ट सरकारलाई चिनीको मूल्य प्रतिकिलो ६३ रुपियाँ बनाउन कडा निर्देशन दिएको छ ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहीबार बसेको बैठकले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

चाडपर्वका बेला चिनीलगायतका दैनिक उपभोग्य बस्तुको मूल्य बढाउने व्यापारीमाथि कडा कार्वाही गर्न पनि सरकारलाई सचेत गराइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए ।

बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिकेजी चिनीको मूल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो । कांग्रेसका नेतृत्वको समितिको निर्णयले कम्युनिस्ट सरकारलाई झट्का लागेको छ । चिनी तस्करहरू पनि समस्यामा परेका छन् ।

समितिले सरकारको सो निर्णयप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री डा.खड्गप्रसाद ओली (मानार्थ विद्यावारिधी) र चिनी उद्योगीबीच केही समयअघि भएको सहमति अनुसार चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई कडा निर्देशन दिएको छ ।

समितिले उखु किसानको बक्यौता रकम १५ दिनभित्र उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएको छ ।

समितिले चिनीलगायतका चाडपर्वका बेला अतिआवश्यकीय बस्तुको मूल्य वृद्धि नियन्त्रण गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको पनि समितिका सभापति शाहले जानकारी दिए ।

बैठकले चिनीलगायतका दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिका सम्बन्धमा छानबिन गरी समस्या समाधानका लागि सरकारलाई आवश्यक निर्देशन दिन उपसमिति पनि गठन गरेको छ ।

सरकारलाई मूल्य वृद्धिका सन्दर्भका आवश्यक निर्देशन दिने गरी प्रतिवेदन तयार पार्न उपसमिति गठन गरिएको पनि सभापति शाहले जानकारी दिए ।

लेखराज भट्ट नेतृत्वको उपसमितिमा प्रेम आले, पार्वती डिसी चौधरी, चन्दा चौंधरी र प्रदीप यादव सदस्य रहेका छन् । उपसमितिलाई ७ दिनभित्र आफ्नो प्रतिवेदन समितिमा पेश गर्ने कार्यादेश पनि दिइएको छ ।

Published : Thursday, 2018 October 4, 8:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया