कांग्रेसले गाउँका जनताको साथ लिने, स्थानीय तह बलियो बनाउने
काठमाडौं । नेपाली कांग्रेसले तल्लो तहका समितिहरूलाई बलियो बनाउने तयारी गरेको छ । कांग्रेसले स्थानीय तहको फेरिएको संरचनाअनुसार पार्टी संरचनामा व्यापक परिर्वतन गर्दै तल्लो तहसम्मै बलियो बनाउने भएको हो।
कांग्रेसको नयाँ विधानले गाउँ–टोल समितिदेखि वडा कार्यसमिति र मूल्यांकन गर्न वडा स्तरमै वडा कार्यसम्पादन समितिसमेत गठन गर्ने प्रस्ताव गरेको छ ।
देशभर छलफल भइरहेको कांग्रेसको परिमार्जित विधानअनुसार गाउँ–टोल समिति १५ सदस्यीय हुनेछ। त्यसैगरि गाउँ–वडा समिति २० देखि २६ सदस्यीय बनाउने प्रस्ताव गरेको छ।
विधानले गाउँ–वडा कार्यसम्पादन समिति १७ सदस्यीय बनाउन प्रस्ताव गरेको छ । देशको संविधानले स्थानीय तह बलियो बनाएकाले कांग्रेसले पनि आफ्ना संगठनलाई त्यहीअनुसार परिमार्जन गर्ने प्रस्ताव ल्याएको छ ।
मस्यौदा विधानले गाउँपालिका कार्यसमिति २० सदस्यीय र गाउँपालिका कार्यसम्पादन समिति गाउँपालिका सभापतिको अध्यक्षतामा १७ सदस्यीय बनाउन प्रस्ताव गरेको छ।
नगरपालिकाको हकमा विधानले २६ सदस्यीय वडा समिति र नगर समिति २९ सदस्यीय बनाउन प्रस्ताव गरेको छ। नगरपालिकामा समेत वडा र नगर दुवैमा कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव विधानमा छ ।
देश संघीय संरचनामा गएपछि साबिक गाउँ विकास समिति गाभिएर बनेका गाउँपालिका वा नगरपालिका (स्थानीय तह)लाई व्यापक अधिकार दिएको भन्दै कांग्रेसले स्थानीय तहमा पार्टी संगठन सशक्त र चुस्तदुरुस्त बनाउने भएको छ ।
यसका लागि हरेक ६ महिनामा वडादेखि गाउँपालिका र नगरपालिका स्तरमा पार्टी भेला र बर्सेनि अधिवेशन गर्न प्रस्ताव गरेको छ। पार्टीको महाधिवेशन हुनुभन्दा ६ महिनाअघि सबै भेला र स्थानीय अधिवेशन सक्नुपर्ने व्यवस्था मस्यौदा विधानले गरेको छ।
मस्यौदा विधानले गाउँ–टोल समितिमा सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव १–१ जनासहित बढीमा १० सदस्य मनोनीत गरी संगठन बनाउने प्रस्ताव गरेको छ ।
गाउँ–वडा कार्यसमितिमा पनि सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव १–१ जनासहित वडाको जनसंख्याअनुसार ५ महिला समेटेर १५ वा २१ सदस्य मनोनीत गरी पार्टी कमिटी गठन गर्न प्रस्ताव विधानमा छ ।
वडा कार्यसमिति भने सभापतिको अध्यक्षतामा उपसभापति, सचिव, कोषाध्यक्ष, सहसचिवसहित बढीमा १७ सदस्यीय गठन गर्न प्रस्ताव गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत