निर्मला हत्याकाण्ड छानविनको प्रतिवेदन अस्वीकार, गृहमन्त्रीमाथि नै आशंका !
काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छानविन गर्न बनेको सह–सचिव नेतृत्वको उच्चस्तरीय छानविन समितिको प्रतिवेदनप्रति सरोकारवालाहरूले आशंका गरेका छन् । उनीहरूले प्रतिवेदनलाई अस्वीकार गर्ने चेतावनी दिएका छन् ।
समितिको प्रतिवेदनलाई छिटोभन्दा छिटो सार्वजनिक गर्न माग पनि गरिएको छ । नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै निर्मला पन्तका बाबु यज्ञराज पन्तले समितिको प्रतिवेदनले न्याय पाउनेमा आशंका जन्माएको बताए । ‘उच्चस्तरीय छानविन समितिले बुझाएको प्रतिवेदनमा पूर्ण विश्वास हुने अवस्था छैन । प्रतिवेदनबाट न्याय पाउने आशा छैन’, उनले भने, ‘प्रतिवेदन सार्वजनिक हुनुपर्छ । के उल्लेख छ सबैले जान्न पाउनुपर्छ ।’
प्रतिवेदनले मुख्य दोषीका रुपमा एसपी डिल्लीराज विष्टलाई ठहर गरेको छ । ‘एसपी डिल्लीराज विष्टले प्रमाण नष्ट गरेका हुन् । उनलाई कारबाही त हुनै पर्छ’, यज्ञराज पन्तले भने, ‘बलत्कारी र हत्यारालाई सरकारले कहिले कारबाही गर्छ ? प्रतिवेदनले दोषी को हो भनेर भन्न सकेको छ कि छैन ? सबैको चासो त्यो हो । न्याय खोजेका छौँ ।’
उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्र केसीले प्रधानमन्त्री केपी ओली अमेरिकाबाट आएपछि प्रतिवेदन सार्वजनिक हुने बताए । उनका अनुसार गृहमन्त्री रामबहादुर थापालाई बुझाइएको प्रतिवेदन प्रधानमन्त्री आएपछि सल्लाह गरेर सार्वजनिक गर्ने उल्लेख गरे ।
‘क–कसको कमजोरी छ हामीले प्रतिवेदनमा लेखेका छौं’, केसीले भनेका छन्, ‘निर्मला पन्तलाई बलात्कार गरेर हत्या गरिएको छ । दोषीहरू को–को हुन् नाम छ । हामी जाँदा हत्याको एक महिना भइसकेको थियो । हामीले भेटाएका र प्राप्त कुरा कसरी भयो भनेर राय सुझाव सहित प्रतिवेदनमा राखिएको छ ।’
‘हामीले अनुमानका भरमा केही भनेका छैनौँ । निर्मलाका बाबुआमाले पनि किटानी जाहेरी दिएका छैनन्’, सदस्य केसीले भने, ‘यस्तो अवस्थामा हामीले कसरी दोषी तोक्ने ? हामीले प्रमाणका आधारमा प्रतिवेदन तयार पारेका छौँ । दोषी तोकेका छैनौँ ।’
महिलाअधिकारकर्मी शारदा चन्दले गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा दोषीलाई उम्काउने गरेर उच्चस्तरीय छानविन समितिले प्रतिवेदन तयार पारेको आरोप लगाइन् ।
‘यो समितिले गृहमन्त्री र उच्च व्यक्तिको दवावमा प्रतिवेदन लेखेको छ । प्रहरीलाई मात्रै निलम्वन गरेर नाटक गरिएको छ’, उनले भनिन्, ‘अधिकार सम्पन्न समितिले किन सत्यतथ्य लेखन सकेन ? हामीलाई बेकुव बनाउने काम भएको छ ।’ उनले प्रश्न गर्दै भनिन्, ‘आधुनिक र वैज्ञानिक आधारमा किन अनुसन्धान भएन ? हत्यारा को हो भन्न नसक्ने समितिका सदस्यहरूले ठूला कुरा गर्ने होइन ? जनतालाई झुक्काउन खोजिएको छ ।’
समितिले प्रतिवेदनमा निर्मला पन्तका हत्याराको नाम किटानी गर्नुपर्ने भन्दै महिलाअधिकारकर्मी चन्दले गलत सूचनाका आधारमा गृहमन्त्री थापाले पटक पटक बोल्ने गरेको बताइन् ।
‘हामी सन्तुष्टि छैनौँ । प्रधानमन्त्रीलाई किन कुर्नु प-यो ? कार्यबाहक प्रधानमन्त्रीले प्रतिवेदन सार्वजनिक गरे पनि हुन्छ’, उनले आशंका गर्दै भनिन्, ‘प्रमाण प्रहरीले नष्ट गरेको छ । दोषी पक्राउ पर्नुपर्छ । हत्यारालाई सार्वजनिक गर्नुपर्छ ।’
उच्चस्तरीय छानविन समितिले मंगलबार निर्मला पन्तको बलत्कारपछि हत्या भएको विषयमा आफ्नो प्रतिवेदन गृहमन्त्री थापालाई बुझाएको थियो । समितिको प्रतिवेदन सार्वजनिक नगरेर गृहमन्त्री थापाले लुकाएर राखेपछि आलोचना भएको छ । पीडित पक्षले पनि समितिको प्रतिवेदनबाट न्याय पाउनेमा आशंका जनाउँदै आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत