पूर्वप्रधानसेनापति क्षत्रीको अकुत सम्पत्तिको छानविन हुने !

काठमाडौं । तत्कालीन एमालेको सूर्य चुनाव चिन्हबाट विजयी भएका मधेसी स्वतन्त्र समूहका सांसद हृदयश त्रिपाठीले नेपाली सेनाका अवकास प्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीको सम्पत्तिको छानविन गर्न माग गरेका छन् ।

बिहीबार बसेको संसदको बैठकमा विशेष समयमा बोल्दै सांसद त्रिपाठीले राजेन्द्र क्षत्रीका बारेमा छानविन अनिवार्य भइसकेको बताए । ‘नेपाली सेनाका अवकास प्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्रीका विषयमा सञ्चारमाध्यमले लेख्न थालेका छन्’, उनले भने, ‘राजेन्द्र क्षत्रीमाथि छानविन गर्न अनिवार्य भइसक्यो ।’

नेपाली सेनाले व्यवसाय गर्दा पेशागत मर्यादामा आँच आउँन थालेको उनले बताए । ‘सेनाले व्यवसाय गर्दा पेशागत मर्यादामा आँच आउँछ’, त्रिपाठीले भने, ‘सेनाको अनुशासन खलबलिन्छ । सुनकाण्ड होस् वा निर्मला हत्याकाण्ड । प्रहरी डिमोरलाइजेसनमा छ । सेनापनि त्यही अवस्थामा हुनेछ ।’

‘राज्यका अधिकांश निकाय मक्किएका छन् । कुरुप भएका छन्’, उनले भने, ‘सेनालाई व्यवसायमा सामेल गराउने हो भने बचेखुचेको साखमा ह्रास आउनेछ ।’

प्रधानसेपति रहेका बेला क्षत्रीले करोडौं रुपियाँ भ्रष्टाचार गरेर घर, जग्गा, सम्पत्ति जोडेको भनेर समाचार आउन थालेपछि छानविनको माग संसदमा उठेको हो । पदमा रहेका बेला विभिन्न स्थानमा क्षत्रीले पत्नी, छोरा र बुहारीको नाममा झण्डै एक अर्ब बराबरको सम्पत्ति जोडेको आरोप छ ।

सांसद त्रिपाठीले बाराको निजगढ विमानस्थलको डिपिआर तयार नहुँदै रुख कटान गर्ने प्रस्ताव ल्याएको भन्दै पर्यटन मन्त्रीको आलोचना गरे । ‘विमानस्थलको डिपिआर नबन्दै रुख काट्ने । कमिशन खाने चलखेल सुरु भयो । पहिला डिपिआर बनाउ’, उनले भने ।

सांसद त्रिपाठीले दशैँको मुखमा चिनीको मूल्य वृद्धि गर्न चलखेल भइरहेको बताए । ‘दशैँको मुखमा व्यापारी र सरकारी कर्मचारीहरू मिलेर चिनीको मूल्य बढाउने तयारी भएको छ’, उनले भने, ‘सरकारले नियन्त्रण नगर्ने हो भने कालोबजारी र तस्करहरूले दशैँको मुखमा चिनी प्रतिकिलो असी रुपियाँभन्दा पनि धेरै बनाउँछन् ।’

Published : Thursday, 2018 September 20, 1:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया