संविधान संशोधनबाट कांग्रेस पछि हटेको छैनः विमलेन्द्र निधि
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सुशील कोइरालाको नेतृत्वमा जारी भएको संविधानलाई संशोधन गर्ने बेला विनासर्त समर्थन गर्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले संविधान संशोधन गरेर मधेसी, जनजाति, आदिवास, दलितहरूको अधिकारलाई अझै समावेश गर्नुपर्ने बताए । उनले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा ल्याइएको संविधान संशोधनको प्रस्तावलाई जस्ताको त्यस्तै ल्याइए कांग्रेसले विनासर्त सहयोग गर्ने बताएका हुन् ।
‘यो संविधान जारी गर्ने बेला नै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संशोधन आवश्यक छ भन्नुभयो । संविधानका सहमत र अहसमत रहेका पक्षहरूको जायजमागलाई कांग्रेसले स्वीकार गरेको थियो’, उनले भने, ‘संविधान जारी भएपछि पनि कांग्रेस नेतृत्वको सरकारले संविधान संशोधन गराएको पनि हो । त्यसबाट धेरै सकारात्मक कुरा भयो ।’
पहिलो संविधानमा माओवादी केन्द्र र मधेस केन्द्रित दलसँग सहमति र सम्झौता भएको थियो । संशोधनका लागि कांग्रेसले प्रयास पनि गरेको थियो’, निधिले भने, ‘तत्कालीन एमालेले संशोधनलाई घोर राष्ट्रघाति र देशघाती भनेर संशोधनलाई साथ दिएन ।’
उपसभापति निधिले अहिले पनि कांग्रेस आफ्नो अडानबाट पछि नहटेको बताए । ‘त्यही अनुसारको संविधान संशोधन हुन्छ भने समर्थन गर्छौं । संशोधन आवश्यक छ’, उनले भने, ‘कांग्रेसले चुनावका बेला पनि संविधान संशोधनका लागि प्रतिवद्धता जनाएको थियो । सक्रिय सहयोग गर्नेछ ।’
केपी ओली नेतृत्वको वर्तमान सरकारले संविधान कार्यान्वयनमा ध्यान केन्द्रित नगरेको उनले आरोप लगाए । ‘तेस्रो संविधान दिवस मनाउँदै गर्दा सरकारले संविधान कार्यान्वयनमा ध्यान दिएको छैन’, उनले भने, ‘सरकारले संशोधनको पक्षमा चर्चा पनि गरेको छैन । सविधान संशोधनमा झारा टार्ने किसिमले अभिव्यक्ति दिएको छ ।’
निधिले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले सबैभन्दा धेरै संविधान संशोधनको मुद्धा उठाएको बताउँदै अहिले आएर उनीहरूले नै संशोधनमा ध्यान नदिएको आरोप लगाए । ‘संविधान संशोधनमा राजपा र संघीय फोरमले अडान लिनुभयो । उहाँहरूले सरकारलाई समर्थन पनि गर्नुभयो’, उनले भने, ‘उहाँहरू संविधान संशोधनलाई चर्चा पनि गरिरहनु भएको छैन । संशोधनको पक्षमा कांग्रेस विनासर्त समर्थन गर्नेछ ।’
संविधानले गणतन्त्र, संघीयता, समावेशीता धर्मनिरपेक्षाता र मिश्रित निर्वाचन प्रणालीलाई राखेको भन्दै संविधानलाई थप कार्यान्वयनमा सरकारले ध्यान नदिएकोमा चिन्ता जनाए । ‘सरकार अरु विषयमा अन्यत्र अलमलिएको छ’ निधिले भने, ‘सात प्रदेशको निर्वाचन भयो । मुख्यमन्त्री र मन्त्री भए । तर, सुरक्षा, निजामती कर्मचारी जस्ता प्रदेशलाई कार्यसम्पादनको लागि आवश्यक पर्ने प्रादेशिक संगठनात्मक संरचना दिइएको छैन ।’
कांग्रेसका उपसभापति निधिले केन्द्र सरकारले कानून दिनुपर्ने भएपनि अहिलेसम्म कुनै अधिकार नदिएको आरोप लगाए । ‘संघीयता कार्यान्वयनमा निर्वाचनपछि केही पनि काम भएको छैन । यो सबैभन्दा चिन्ताको विषय हो’, उनले भने, ‘सरकार र दलहरूले संघीय संरचनाको लागि आवश्यक कानून, बजेट र ऐन दिनुपर्छ । कांग्रेसले सरकारलाई ध्यानाकर्षण गराउँछ ।’
संघीय फोरम र राजपा नेपालले संविधानविरुद्ध कालोदिवस मनाएकोप्रति असन्तुष्टि जनाउँदै निधिले भने, ‘तराईवासाीले कालो दिवस मनाएका छैनन् । कालो दिवस राजपा र संघीय फोरमले मनाएकोमा आश्चर्य मानेका छन् ।’
‘मधेसी जनताले संविधान संशोधन चाहेका थिए । कांग्रेसकै नेतृत्वमा पहिलो पटक एकचरणमा संशोधन भएको छ’, उनले भने, ‘संघीय फोरम र राजपा चुनावमा भाग लिनुभयो । भाग लिएपछि कालो दिवस मनाउनुको के अर्थ छ ? यो दोहोरो चरित्र हो । बरु संविधानलाई थप परिमार्जन र परिपक्व कसरी बनाउने भनेर लाग्नुपर्ने हो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत