संविधान कार्यान्वयनमा सरकारको नियतमाथि खोटः कांग्रेस (भिडियो)
काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले देशभरि संविधान दिवस मनाइ रहँदा नेपाली कांग्रेसले संविधानप्रति सरकारको नियतमाथि गम्भीर प्रश्नहरू उठाएको छ ।
कांग्रेसले ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बुधबार आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर कम्युनिस्ट सरकारले ठाउँठाउँमा संविधान कार्यान्वयनमा चुकेको आरोप लगाएको हो ।
कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान अन्तत कांग्रेसकै नेतृत्वमा ३ तहको निर्वाचन सम्पन्न भएर कार्यान्वयनको ऐतिहासिक चरण पूरा भएको उल्लेख गर्दै कांग्रेसले निर्वाचनले संस्थागत गरेको संविधानको समग्र सफलताका लागि राख्नु पर्ने गाम्भीर्यता वर्तमान सरकारबाट नदेखिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले संघीयता सहितको संविधान बने पनि संघीयतालाई बलियो बनाउने ढंगले केन्द्रीय सरकारले ईच्छाशक्ति र क्षमता नदेखाएको बताए ।
शर्माले दुईवटा बाहेक अन्य प्रदेशको नामाकरण गर्न नसकेको आरोप लगाए । उनले यसलाई संविधान विपरितको कार्य भएको बताएका छन् । ‘प्रदेश राजधानीहरूको अन्तिम टुङ्गोले गम्भीरतापूर्वक विषय प्रवेश समेत पाएको छैन’, उनले भनेका छन्, ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग निर्माणमा संघीय सरकारले ढिलाई गरेका कारण जथाभावी कर निर्धारणको स्वन्छन्दताले अन्तत संघीयतालाई अलोकप्रिय बनाउने डिजाइनलाई बल पुगेको छ ।’
संघीय सरकार र प्रदेश सरकारबीच सहज तादाम्यता स्थापित नगरिएका कारण केन्द्र र प्रदेशबीचको द्वन्द सार्वजनिक भेलाहरूमार्फत नै प्रकट हुँदै गएको भन्दै कांग्रेसले त्यसले नकारात्मक प्रभाव बढाएको जनाएको छ ।
संविधान संशोधनको विगतको प्रस्तावलाई राष्ट्रघात करार गरेपनि वर्तमान सरकारको नेतृत्वले संशोधन आवश्यक ठहर त गरेको भन्दै शर्माले त्यसलाई सत्ताको बाग्र्रेनिङ चिप्सका रुपमा प्रयोग गरेर त्यसलाई अघि नबढाएको बताए ।
‘परिणाममा सरकारमा रहेका केहीले संविधान दिवस मनाइरहँदा सरकारमै बसेर कसैले यो दिवस नमान्ने, नमनाउने र कतिपयले कालो दिन नै घोषित गर्ने दुनियाँमा कही नभएको विचित्रको चित्र प्रस्तुत भइ रहेकोछ’, प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो स्थिति बन्नु वर्तमान सरकारको नेतृत्वकै असफलता हो भन्ने हाम्रो ठहर छ ।’
कांग्रेसले संविधान पालनाको पहिलो कर्तव्य सरकारको भएको भन्दै संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन नहुनु यसको पालनामा सरकारको इमान्दारिता नरहेको गम्भीर उदाहरण रहेको जनाएको छ ।
‘प्रतिपक्षलाई प्रतिपक्ष होइन भन्ने अभिव्यक्ति, निषेधाज्ञा, टिभी प्रस्तोतालाई कारवाही, कयौँ सरकारी समाचार संस्थाबाट पत्रकारको विदाइ, समाचार साभार गरेकोमा पत्रकारलाई हतकडी यी यस्ता उदाहरण हुन् जसले पुष्टि गर्छ, लोकतान्त्रिक प्रकृयाबाट नयाँ सरकार त बन्यो तर सरकार लोकतान्त्रिक चरित्रको बन्न सकेन’, कांग्रेसले भनेको छ ।
‘संविधान र सरकारसँग नागरिकको मुख्य अपेक्षा सदैव शान्ति सुरक्षा र समृद्धि हुन्छ । शान्ति सुरक्षाको प्रभावकारी बन्दोवस्तले संविधानको सफलतालाई एकातर्फ सघाउँछ भने अर्कोतर्फ समृृद्धिको यात्रालाई बल पु¥याउँछ’, विज्ञप्तिमा भनिएको छ, ‘तर यो सरकार बनेपछिको बितेको ७ महिनामा शान्ति सुरक्षाको स्थिति अत्यन्तै बिग्रिएर गएको छ । सरकार सबैभन्दा बढी असफल यो प्रकरणमा भएको छ ।’
‘निर्मला पन्तको प्रकरण अनेक कोणबाट कालो धब्बा बन्न पुगेको छ । दोषीलाई जोगाउन र निर्दोशलाई दोषी करार गर्न खोज्ने, न्याय माग्दा गोली चलाउने र अर्को बालक मारिने’, कांग्रेसले भनेको छ, ‘निर्मलालाई न्याय नाराका साथ देशको १९ स्थानमा जनप्रदर्शन भइरहेकै दिन प्रधानमन्त्रीको कार्यकर्तालाई अरिंगाल झै जाइलाग्न भड्काउयुक्त भाषणको सन्देश के हो ?’
प्रधानमन्त्री ओलीको यो शैलिले के शान्ति सुरक्षालाई बढावा दिन्छ ? के यहि प्रवृत्तिको निरन्तरताले संविधानलाई सफल बनाउन सकिन्छ ? भनेर प्रश्न गरेको छ ।
प्रवक्ता शर्माले नेपाली कांग्रेस संविधान दिवसको यो दिन संविधानको सफलताका लागि गम्भीर बन्न सवैमा अपील गरेको छ ।
https://www.facebook.com/republicadainik2/videos/325859224841936/
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत