कांग्रेसको टिम यी १२ स्थानमा सुझाव लिन जाँदैछ

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदामा दोस्रो चरणमा १२ ठाउँबाट सुझाब संकलन गर्न लागेको छ ।

यसका लागि सात प्रदेशका १२ ठाउँमा कांग्रेसको विधान मस्यौदा समितिले सुझाब माग्ने तयारी गरेको हो । देश संघीयतामा गएपछि विधानमा महत्वपूर्ण फेरबदल गर्न लागेको कांग्रेसले ठाउँ–ठाउँमा पुगेर सुझाव लिन लागेको छ ।

केही दिनमा प्रारम्भिक मस्यौदा तयार गरी कांग्रेसले जिल्ला सभापति, महासमिति, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिहरू, भ्रातृ, शुभेच्छुक संस्थाका प्रमुखहरू र सम्बन्धित जिल्लाका प्रदेश र संघका सांसदहरूको सहभागितामा सुझाब संकलन गरिनेछ ।

झन्डै ९० देखि एक सय पेजको प्रारम्भिक मस्यौदा बनाएर सुझाब संकलनमा जाने तयारीमा मस्यौदा समिति लागेको हो ।

तीनवटा उपसमितिले आ–आफ्ना भागमा परेको मस्यौदा बनाएर बुझाएपछि त्यसलाई एकत्रित गर्ने काम भइरहेको स्रोतले जनाएको छ । उपसमितिमा रमेश लेखक, आनन्द ढुंगाना र दिलेन्द्र बडूले सुझाव संकलनको काम गरिरहेका छन् ।

पूर्णबहादुर खड्का नेतृत्वको समितिले असोजको दोस्रो हप्ताभित्र पार्टीलाई विधान बुझाउने तयारी गरेको छ । कांग्रेसले यसपटक पार्टी संरचनालाई संघीय ढाँचामा बदल्दै छ । साथै, केन्द्रीय समितिमा सदस्य संख्या थप्नेदेखि केही पदाधिकारी बढाउनेसम्मको प्रस्ताव अघि सार्दै छ ।

विधानले गरेका व्यवस्थालाई केन्द्रीय समितिले पास गरेपछि आगामी मंसिरको ५ देखि ९ सम्म काठमाडौंमा हुने महासमितिले दुईतिहाइले पास गर्नुपर्नेछ ।

असोज ८–९ गते सानेपामा सुझाब संकलन हुनेछ । धुलिखेलमा ११ र १२ गते, प्रदेश १ को इलाममा ८ र ९ गते, विराटनगरमा ११ र १२ गते, जनकपुरमा ९ र १० गते, वीरगञ्जमा १२ र १३ गते, पोखरामा ९ र १० गते, बाग्लुङमा १२ र १३ गते सुझाब संलकन गरिनेछ ।

९ र १० असोजमा बुटवल, १२ र १३ गते घोराही, ८ र ९ गते वीरेन्द्रनगर र ११ र १२ असोजमा धनगढीमा सुझाब संकलन हुनेछ ।

Published : Wednesday, 2018 September 19, 11:23 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया