कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चितका लागि स्थगित

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टी संगठनका विषयमा छलफल गर्न नेपाली कांग्रेसले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

कांग्रेसले बिहीबारका लागि पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो । भदौ २१ गते तय गरिएको बैठक बिहीबारका लागि सारिएको थियो ।

बैठकलाई लिएर कांग्रेसका शीर्ष नेताहरूका बीच दिनभरि अनौपचारिक छलफल भएको थियो । सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता, केन्द्रीय सदस्यहरूले छलफल गरेका थिए ।

कांग्रेसका नेताहरूबीच बिहीबार भएको औपचारिक बैठकमा अर्को दिन केन्द्रीय कार्यसमिति बोलाउने सहमति भएको स्रोतले जनाएको छ ।

कांग्रेसले बिहीबारको बैठकमा अनुशासन समिति बनाउने तयारी गरेको थियो । समिति गठनमा सभापति देउवा समूहले फरक मत राखेपछि बैठक बस्न नसकेको स्रोतको भनाइ छ ।

५ सदस्यीय समितिमा राख्न भन्दै सभापतिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई २ सदस्यको नाम दिन भनेका थिए । पौडेलले समितिको संयोजक आफ्नो समूहबाट हुनुपर्ने बताउँदै आएका थिए ।

यसअघि गठित अनुशासन समितिमा रमेश रिजाल, कमला पन्त, सुरेन्द्र पाण्डे, हृदयराम थानी, उमाकान्त चौधरी थिए ।

Published : Thursday, 2018 September 13, 9:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया