कांग्रेसद्वारा सदन अवरोध, निर्मला, रोहित र राजुका बारेमा जवाफ माग

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले निर्मला पन्त, रोहित पुनका हत्यारालाई कारबाहीको माग गर्दै संसदको बैठक अबरोध गरेको छ ।

बिहीबार संसदको बैठक शुरु हुनेवित्तिकै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बोल्दै कञ्चनपुरकी निर्मला पन्त र रोल्पाका रोहित पुनका हत्यारालाई पक्राउ किन नगरिएको भनेर प्रश्न उठाए ।

‘निर्मला पन्तको हत्यारा किन पक्राउ गरिएन ? सत्तारुढ दलकै कार्यकर्ताले रोल्पामा तरुण दलका नगर सभापतिको हत्या गरेका छन् । उनलाई किन कानूनी कठघारामा ल्याइएन ?’, उनले प्रश्न गर्दै भने, ‘समाचार लेखेकै भरमा पत्रकार राजु बस्नेतलाई किन जेलमा राखियो ? यसको जवाफ प्रधानमन्त्रीले सदनलाई दिनुपर्छ ।’

सांसद बडूले निर्मला पन्तको हत्यारालाई राज्यले नै संरक्षित गरेको आरोप लगाए । ‘निर्मला पन्तको बलात्कार र हत्या घटना झन् रहस्यपूर्ण भएको छ’, उनले भने, ‘अपराधी कति शक्तिशाली छन् भन्ने कुरा छानविन समितिका सदस्य वीरेन्द्रबहादुर केसीलाई आएको ज्यान मार्ने धम्कीबाट पुष्टि भएको छ ।’

छानविन समितिका सदस्यले समेत राज्यको सुरक्षा संयन्त्रलाई विश्वास गर्न नसकेको भन्दै कांग्रेसका सांसद बडुले यो राज्यलाई कसले चलाएको छ भनेर प्रश्न गरे ।

बडूले सरकारद्वारा पत्रकार राजु बस्नेतलाई गिरफ्तार गरिएकोमा पनि आपत्ति जनाए । पत्रकारमाथिको आक्रमण भएको भन्दै उनले प्रधानमन्त्रीको जवाफ नआउँदासम्म सदन चल्न नसक्ने बताएका थिए ।

त्यसपछि कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवासहितका सांसदहरू आ–आफ्नो सिटबाट उठेर सदन अवरोध गरेका थिए ।

उनीहरूलाई सभामुख कृष्णबहादुर महराले बस्न अनुरोध गरेका पनि थिए । तर कांग्रेसका सांसदहरूले सरकारको जवाफ खोजेपछि सदन दश मिनटका लागि स्थगित भएको छ ।

Published : Thursday, 2018 September 13, 11:30 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया