ओली–प्रचण्डद्वारा कार्यक्रम बहिष्कार, संस्कार देखाए देउवाले

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालको प्रथम वार्षिकोत्सवको कार्यक्रमलाई प्रधानमन्त्री केपी ओली र उनको पार्टी नेकपा (एमाले)ले खासै महत्व नदिएपछि राजपाका नेताहरूको मनमा चिसो पसेको छ ।

त्यति मात्रै होइन अर्को ठूलो कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि स्थापना दिवसका कार्यक्रममा गएनन् । प्रचण्डले पनि मधेसी दल राजपालाई कुनै महत्व नदिएको एकजना माओवादी नेताले बताएका छन् ।

काठमडौंको ज्ञानेश्वरस्थित एक पार्टी प्यालेसमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा प्रधानमन्त्री ओली गएनन् । ओलीले आफू नगए पनि आफ्ना प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई पठाइदिएका थिए ।

ओलीसहित सरकारका सबै मन्त्रीहरूलाई राजपाले निम्तो पठाएको थियो । तर, राजपाको कार्यक्रमलाई प्रधानमन्त्री ओलीले खासै महत्व नदिएर मधेस र मधेसी जनताको मन फेरि एक पटक दुखाएको टिप्पणी कार्यक्रममा सहभागी कार्यकर्ताहरूले गरेका थिए ।

त्यति मात्रै होइन एमालेबाट कुनै पनि ठूला नेता शुभकामना दिन राजपाको कार्यक्रममा गएनन् । कार्यक्रम सम्पन्न हुनै लाग्दा एमालेका उपमहासचिव विष्णु पौडेल पुगेका थिए । एमाले र माओवादीका मन्त्रीका साथै नेताहरूले राजपालाई बहिष्कार गरेकोमा राजपाका केही नेताहरूले चिन्ता जनाएका छन् ।

ओली नेतृत्वको कम्युनिष्ट सरकार गठनका बेला राजपा नेपालले विनासर्त सरकारलाई समर्थन गरेको थियो । सरकार बनाउन संसदमा ओलीको पक्षमा मतदान गरेको थियो ।

यद्यपि, राजपा नेपालको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेका थिए । देउवाले राजपाका नेताहरूसँग भेटेर स्थापना दिवसको शुभकामना दिनुका साथै केही राजनीतिक कुरा गरेका थिए ।

हुन त स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा राजपाका अध्यक्ष महन्थ ठाकुर पनि अनुपस्थित थिए । उनी उपचारका क्रममा नयाँदिल्लीमा छन् ।

ठाकुर मात्रै होइन अर्का नेता महेन्द्र राय यादव पनि उपचारका क्रममा दिल्लीमा छन् । कार्यक्रममा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादव तथा उनीहरूका पत्नी मञ्चमा आसिन थिए ।

Published : Friday, 2018 April 20, 7:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया