ओलीको क्याबिनेटमा ‘रअ’को घुसपेठ

काठमाडौं । माओवादी केन्द्रको कोटाबाट मन्त्री बनेका मातृका यादव भारतको राजधानी नयाँ दिल्ली पुगेपछि विभिन्न टिका टिप्पणी शुरु भएका छन् ।

कर्मचारीलाई तर्सिने गरेर निर्देशन दिएका यादव सोमबार अचानक भारत प्रस्थान गरेका थिए । नयाँदिल्ली पुग्नेवित्तिकै उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरे ।

मन्त्री यादवको भारत भ्रमणको व्यवस्था भारतीय गुप्तचर संस्था ‘रअ’ले मिलाइदिएको स्रोतले जनाएको छ । ‘मातृका यादव भारतसँग निकटका नेता हुन् । विशेष कार्यक्रमको व्यवस्था बनाएर नयाँ दिल्ली लगिएको हो’, उच्च स्रोतले भन्यो–‘दिल्ली पुग्नेवित्तिकै मातृका यादवले सुष्मा स्वराजसँग भेटेर नेपालको राजनीतिका बारेमा बिफ्रिङ गर्नुभएको छ ।’

माओवादीभित्र पनि यादवलाई ‘रअ’ मान्छे भनेर आरोप लाग्ने गरेको छ । यादवलाई नारायणकाजी श्रेष्ठ समूहले ‘रअ’को एजेन्टको आरोप लगाउँदै आएको छ ।

यादवलाई मन्त्री बनाउन भारतीय पक्षले ठूलो लविङ गरेको थियो । बिगतमा भारतको विरोध गरेर राष्ट्रवादी छवि बनाएका तथा माओवादी फुटाएर सडकमा आएका यादव पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फेरो समातेर फेरि राष्ट्रिय राजनीतिमा सक्रिय भएका हुन् । यादवको राजनीति माथि उठाइदिन भारतकै ठूलो योगदान रहेको चर्चा चुनावका बेला भएको थियो ।

मन्त्री यादवले भारतमा रहेका बेला नेपालमा चीनको बढ्दो प्रभावको विरोध गरेका थिए । ‘मातृका यादव चीन विरोधी नेता हो’, माओवादीका एक नेताले भने–‘उहाँको राजनीति भारतले बनाइदिएको हो ।’ भारत पुगेका यादवले त्यहाँका उच्च नेताहरूसँग पनि भेटवार्ता गरेका छन् ।

स्रोतका अनुसार मन्त्री यादवले भारतीय विदेशमन्त्री स्वराजसँग ओलीको पहिलो विदेश भ्रमण भारतबाटै गराउनका लागि आफूले भूमिका खेल्ने भनेर आश्वासन समेत दिएका छन् । ओलीले भारतलाई तह लगाउन चीनबाट आफ्नो पहिलो भ्रमण गर्ने योजना बनाएका छन् । उनको चीन भ्रमण रोक्न भारतले भित्रभित्रै तयारी गरकोे छ ।

यसैबीच नेकपा एमालेका सचिव योगेश भट्टराई, केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य सूर्य थापा र प्रचार विभागका सचिव विष्णु रिजाल पनि भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा छन् ।

उनीहरुले भारतीय जनता पार्टीका नेताहरुका साथै भारतीय प्रसाशकहरुसँग भेटवार्ता गरेर नेपाल–भारतबीच विग्रिएको सम्बन्ध सुधारको प्रयासको थालनी गरेको एक नेताले बताए ।

आफूलाई राष्ट्रवादी बताउन रुचाउने एमालेका केन्द्रीयस्तरका नेताहरु नै विग्रिएको सम्बन्ध सुधारको नाममा एक जत्था लिएर भारत जानुले पनि उनीहरुको कथित राष्ट्रवादको अनुहार छर्लंग भएको भनेर सामाजिक सञ्जालमा टिप्पणी सुरु हुन थालेको छ ।

Published : Thursday, 2018 March 22, 11:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया